पश्चिम नेपालमा पानी पार्ने प्रणाली सक्रिय

काठमाडौं । यस वर्षको हिउँदयाम सकिँदै गर्दा पश्चिम क्षेत्रमा वर्षा र हिमपात गराउने गरी पश्चिमी वायु सक्रिय भएको छ । आज बेलुकादेखि पर्सिसम्म देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको जम्मु–काश्मीर, हिमाञ्चल हुँदै नेपाल भित्रिएको मौसमी प्रणाली सुदूरपश्चिम र उच्च हिमाली क्षेत्रमा आइपुगेको मौसमविद्ले बताएका छन् । यो प्रणाली भोलि दिउँसोसम्म काठमाडौं आइपुग्ने तर पश्चिमको तुलनामा कमजोर रहने अनुमान छ ।
मौसमविद् रोजन लामिछानेका अनुसार आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । भोलि काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा छिटपुट पानी पर्न सक्ने अनुमान छ । मधेशबाहेक अरू ठाउँमा प्रभाव परे पनि पूर्वमा सामान्य असर पर्ने अनुमान छ । पर्सि शनिवार आज र भोलिभन्दा कम वर्षा हुने मौसमविद् लामिछानेले बताए । मधेश र लुम्बिनीबाहेकका प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भोलि र पर्सिसम्म नै हल्का हिमपातको सम्भावना छ । पर्सि बेलुकादेखि धेरै ठाउँको मौसम क्रमिक सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।
नेपालमा मङ्सिर मध्यदेखि फागुन १६ गतेसम्मको अवधिलाई हिउँदयाम मानिन्छ । हिउँदमा सरदर ६० मिलिमिटर पानी पर्ने भए पनि यो वर्ष अहिलेसम्म झन्डै १० दशमलव ६ प्रतिशतमात्रै वर्षा भएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया