Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

बस्दै नबसी स्थगित भयो प्रतिनिधि सभा बैठक


प्रतिनिधि सभाको शुक्रबारको बैठक स्थगित भएको छ।

शुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो। तर सत्तापक्ष र प्रमुख प्रतिपक्षसहित प्रतिपक्षी दलहरू बेग्लाबेग्लै छलफलमा व्यस्त रहेपछि दिउँसो २ बजेका लागि बैठक सारिएको थियो।

अपराह्न तीन बजेसम्म पनि बैठक बस्न सकेन।

सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।

कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै केही दिनदेखि प्रतिनिधि सभाका बैठक अवरोध गर्दै आएको छ।

कांग्रेसको शुक्रबार बसेको संसदीय दल बैठकले संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरोध जारी राख्ने निर्णय गरेको थियो।

सभामुख देवराज घिमिरेको सचिवालयले दिएको जानकारीअनुसार शुक्रबारको प्रतिनिधि सभा स्थगित भएको छ। अर्को बैठक जेठ ६ गते आइतबार बिहान ११ बजे बस्नेछ।

यसअघि राष्ट्रिय सभा बैठक पनि स्थगित भएको थियो। कांग्रेस सांसदहरूले सहकारीबारे संसदीय छानबिन समितिको माग राखेपछि बैठक आइतबारका लागि स्थगित भएको थियो।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी कांग्रेसका नेताहरूसँग छलफल गर्ने भएका छन्। शुक्रबार साँझ ६ बजे प्रधानमन्त्रीले संसदीय समितिलगायत विषयमा कांग्रेससँग छलफल गर्न लागेका हुन्।

प्रतिनिधि सभाको बिहीबार साँझको बैठकमा कांग्रेस र एमाले सांसदहरूबीच धकेलाधकेल पनि भएको थियो।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट