Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

इजरायलमा मारिएका ६ जनाको शव काठमाडौंबाट घर पुर्याउन २८ लाख ३६ हजार भुक्तानी


इजरायलमा मारिएका १० मध्ये ६ नेपालीको शव काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूको घर (ठेगाना)सम्म पुर्‍याउँदा सरकारको २८ लाख ३६ हजार ८३४ रुपैयाँ खर्च भएको छ ।

वैशाख २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त रकम भुक्तानी गर्ने निर्णय गरेको हो । उक्त रकम भुक्तानी गर्न मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयलाई भनेको छ । “इजरायल घटनामा परी निधन भएका ६ नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पुर्‍याउँदा लागेको कुल खर्च २८ लाख ३६ हजार ८३४ रुपैयाँ सम्बन्धित पक्षलाई भुक्तानी गर्ने,” वैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयमा भनिएको छ ।

२०८० कात्तिक २० गते बिहान प्यालेस्टाइन चरमपन्थी समूह हमासले इजरायलमा आक्रमण गर्दा १० नेपालीसहित १४ सयभन्दा बढीको मृत्यु भएको थियो । उक्त घटनामा मृत्यु भएका १० नेपालीको शव गत कात्तिक महिनामा इजरायलबाट काठमाडौं ल्याई सम्बन्धितको घरमा पुर्‍याइएको थियो ।

हमासको आक्रमणमा परी मृत्यु हुने नेपालीमा नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज विष्ट, आशिष चौधरी, गणेशकुमार नेपाली, आनन्द साह, राजेशकुमार स्वर्णकार, राजन फुलारा, पदम थापा र प्रवेश भण्डारी रहेका थिए । मृत्यु हुने अधिकांश सुदूरपश्चिम प्रदेशका थिए ।

इजरायलले विभिन्न चरणमा गरी १० नेपालीको शव काठमाडौं पठाएको थियो । सरकारले ती शव सम्बन्धित स्थानमा पुर्‍याउने काम गरेको थियो । सोही आक्रमणमा बन्धक बनाएका कञ्चनपुर भीमदत्त–३ का विपीन जोशीलाई हमासले अझै छोडेको छैन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट