Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

साताको सेयर बजार : नेप्से साढे ५२ अंकले बढ्यो, १८ अर्ब ५९ करोडको कारोबार


धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक यो साता ५२.५२ अंकले बढेको छ । गत साता ३२.७२ अंक घटेको बजार यो साता भने बढेर कारोबार भयो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यो साता पाँच दिन सेयर कारोबार भएकोमा चार कारोबार दिन बजार बढेको छ । गत मंगलबार भने बजार घटेको थियो । सो दिन बजार ९.५४ अंकले घटेको थियो ।

यो साता आइतबार ८.२६ अंक, सोमबार २४.३९ अंक, मंगलबार २८.६२ अंक र साताको अन्तिम कारोबार दिन ०.७९ अंकले बजार बढेर २०१८.७६ विन्दुमा बन्द भएको छ ।

गत साता पाँच दिन सेयर कारोबार भएकोमा तीन कारोबार दिन घटेको थियो । नेप्सेका अनुसार गत साताको आइतबार २४.५८ अंकले बजार घटेको थियो । सोमबार १५.६२ अंक र बुधबार ०.२१ अंकले बजार घटेको थियो ।

गत साताको तुलनामा यो साता कारोबार रकममा पनि वृद्धि भएको छ । गत साताको तुलनामा यो साता सेयर कारोबार रकम चार अर्ब नौ करोड ९८ लाख रुपैयाँले बढेको छ । यो साता १८ अर्ब ५९ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गत साता भने १४ अर्ब ४९ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

गत साताको तुलनामा कुल बजार पुँजीकरण ८३ अर्ब ४६ करोड रुपैयाँले बढेको छ । बिहीबार कुल बजार पुँजीकरण ३२ खर्ब एक अर्ब १६ करोड रुपैयाँ छ । गत साताको अन्तिम दिन कुल बजार पुँजीकरण ३१ खर्ब १७ अर्ब ७० करोड रुपैयाँ थियो ।

यो साता बजार २०४८ विन्दुसम्म पुगेको थियो भने गत साता बजार १९५२ विन्दुसम्म झरेको थियो । यो साताको अन्तिम दिन बिहीबार चार अर्ब २३ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये लघुवित्त र ‘अन्य’ समूहको परिसूचक वृद्धि भएको छ । लघुवित्त समूहको परिसूचक ३.८० प्रतिशतले वृद्धि भएको छ । यो समूहको परिसूचक चार हजार ५३६ विन्दुमा छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट