Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

ग्रेटवालमा दौडनको लागि बेइजिङ पुगे हङकङका ६ नेपाली


चीनको राजधानी बेइजिङस्थित ग्रेटवालमा सम्पन्न हुन गइरहेको म्याराथनमा भाग लिन हङकङबाट एक महिलासहित ६ जना नेपालीको टोली बेइजिङ पुगेको छ।

टोलीमा श्याम इङ्नाम, हिमबहादुर लिम्बू, रविनकुमार लिम्बू, लोकराज लिम्बू, दिलकुमारी लिम्बू र वेदराज लिम्बू रहेका छन्। टोलीको नेतृत्व इन्जिनियर श्याम इङ्नामले गरेका छन्।

‘ग्रेटवाल पुग्न मात्रै पनि धेरैले सपना पालेका हुन्छन्। तपाईँहरू त दौडन नै पुग्नु भो, तयारी कस्तो छ ?’ भनी सोधेको प्रश्नमा इङ्नामले बेइजिङबाट भने, ‘हुनत: हङकङ माना खाएर मुरी उब्जाउने ठाउँ हो। तैपनि जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ एक महिना अगाडि निर्णय लिएर जुटेका हौँ। हामी सबैसँग सय किमीभन्दा माथि दौडिएको अनुभव छ। त्यसैले ४२ किमीको म्याराथनमा खासै कठिनाइ नपर्ने कुरामा ढुक्क छौँ । नतिजा जस्तो आए पनि कम्तीमा नेपालको झन्डा फहराएर नेपाललाई चिनाउनेछौँ।’

भोलि (शनिबार) बिहान ग्रेटवालमा दौड सम्पन्न हुनेछ। दौड ४२ र २१ किमीको हुनेछ। नेपालीहरू ४२ किमीमा सहभागी हुँदैछन्।

उक्त दौडमा यतिको सङ्‌ख्यामा भाग लिने उनीहरू पहिलो नेपाली हुन्। सबै जना हङकङ नेप्लिज अल्ट्रा ट्रेल एसोसिएसनमा आबद्ध छन्।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट