Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

सबै घरमा संकेत नम्बर टाँस


सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ घुम्थाङ वडाभित्रका सबै घरधुरी र सार्वजनिक भवनमा नम्बर राख्ने पहिलो वडा बनेको छ।

वडा घरधुरी सर्वेक्षण, आवश्यक सूचना संकलन तथा सार्वजनिक सम्पत्तिको पहिचान कार्यमा यो वडा पहिलो बनेको हो। वडाका सबै घरमा तथा मन्दिर, गुम्बा, चर्च, विद्यालयहरूमा नम्बर प्लेट राख्ने कार्य गरिएको छ। ‘कोबो कलेक्ट सफ्टवेर’मार्फत जीपीएस लोकेसनसमेत राखेर गरेको घरधुरी तथा सार्वजनिक सम्पत्ति पहिचानबाट संकलित तथ्यांकका आधारमा सेवा प्रवाह गरिने वडाअध्यक्ष ङिमा शेर्पाको भनाइ छ।

राष्ट्रिय जनगणनाबाट आएको तथ्यांकमा थपघट भइसकेको, वडाका लागि मात्र चाहिने कतिपय तथ्यांक थप्नुपरेको र वडामा रहेका सबै घरधुरीको नक्सांकन समेत गर्नुपर्ने भएकाले यो आर्थिक वर्षमा पहिचानको काम गरिएको उनले जानकारी दिए। घरधुरी सर्वेक्षणपश्चात प्राप्त तथ्यांकले वडावासीलाई सेवा प्रवाहमा सहजता प्रदान गर्ने उनको विश्वास छ।

घरधुरी तथा सार्वजनिक सम्पत्ति सर्वेक्षणमा कूल १ हजार १ सय ५८ घरधुरीमा नम्बर प्लेट जडान गरिएको वडाध्यक्ष शेर्पाले बताए। यस्तै २१ वटा मन्दिर, ९ वटा विद्यालय, ८ वटा चर्च, ८ वटा सार्वजनिक भवन र ४ वटा गुम्बा समेत पहिचान गरी नम्बरप्लेट लगाइएको वडाले जनाएको छ।

जनगणनाअनुसार यो वडाको जनसंख्या ३ हजार ३ सय २२ छ। जसमा पुरुषको संख्या १ हजार ६ सय ४२ र महिलाको संख्या १ हजार ६ सय ८० छ। सर्वेक्षणको तथ्यांक अनुसार यहाँका ८४ दशमलव  ६३ प्रतिशत घर कच्ची छन् भने १५ दशमलव ३७ मात्र पक्की घर रहेको पाइएको छ।

यस क्षेत्रमा ४७ दशमलव ६७ प्रतिशत परिवारले हिन्दु धर्म मान्ने गरेको पाइएको छ भने ४३ दशमलव ८७ प्रतिशत परिवारले बौद्ध धर्म मान्ने गरेको पाइएको छ। यस्तै ८ दशमलव २९ प्रतिशत घरपरिवार क्रिश्चियन धर्ममा आवद्ध रहेको तथ्यांकले बताएको छ। यस्तै शून्य दशमलव १७ प्रतिशतले अन्य धर्म पनि मान्ने गरेको पाइएको छ।

यहाँका १ हजार १ सय ५८ घरधुरीमध्ये ५१ दशमलव ५७ प्रतिशत परिवारले नेपाली भाषा, २१ दशमलव ४२ प्रतिशतले शेर्पा भाषा, १७ दशमलव ९६ प्रतिशतले तामाङ भाषा, ८ दशमलव ६४ प्रतिशतले नेवारी भाषा र बाँकीले अन्य भाषा बोल्ने गरेको पाइएको वडाध्यक्ष शेर्पाले जानकारी दिए। वडाका सबै घरमा बिजुली पुगेको र सबै घरमा चर्पी रहेको पाइएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट