व्यक्ति केन्द्रित समिति गठन हुँदैन : एमाले उपाध्यक्ष पोखरेल
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले सहकारी छानबिनसम्बन्धी व्यक्ति केन्द्रित संसदीय समिति गठन हुन नसक्ने बताएका छन्।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘समस्यालाई केन्द्रित गरेर समिति गठन गर्नुपर्छ, व्यक्ति केन्द्रित होइन।’ गृहमन्त्रीको नामै तोकेर समिति गठन गर्नुपर्ने प्रतिपक्षीको माग उचित नभएको उनले प्रस्ट पारे।
उनले वर्तमान नयाँ सत्ताको राजनीतिक समीकरणले मुलुकको सङ्घीयतालाई बलियो बनाउने दाबी गरे। विगतको गठबन्धन नीतिहीन, अस्वाभाविक रहेकाले तोड्नुपर्छ भनेर एमालेले नयाँ गठबन्धन बनाएको र यसले जनताका समस्या सम्बोधन गर्ने उनको भनाइ छ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकमा राजनीतिक स्थायित्व दिन गठबन्धन सकारात्मक रुपमा अगाडि बढिरहेको जिकिर गरे। उनले एमाले मिसन २०८४ को लक्ष्य लिई अगाडि बढिरहेकोसमेत उनले उल्लेख गरे।
सञ्चारकर्मीको प्रश्नमा वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधनीय विषय भएकाले समय आएपछि सम्पूर्ण राजनीतिक दलहरुसँग छलफल गरी साझा सहमतिका आधारमा संशोधन गर्न सकिने जवाफ दिए। उनले सरकारले तोकिएको समयमा आगामी आर्थिक वर्षको बजेट ल्याउने दाबी गरे।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया