Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

सामाजिक सञ्जाल : वर्चस्व, सशक्तीकरण र प्रतिरोधको नयाँ साधन


सामाजिक मिडिया प्लेटफर्म, जसलाई हामीले सामान्य रूपमा सामाजिक सञ्जाल भनेर बुझ्छौँ, यसले त्यस्ता सामग्रीलाई प्राथमिकता दिन्छ, जसले समाजको वर्चस्वशाली मूल्य, मान्यता वा विश्वास बोकेको हुन्छ । फलस्वरूप त्यहाँ त्यस्तै सामग्री बढी देखिन्छन् र प्रभावशाली पनि हुन्छन् ।

  • सांस्कृतिक पक्ष 

सूचना र सञ्चारका लागि सामाजिक मिडिया अर्थात् नयाँ मिडियाको निर्भरताले वर्चस्वशाली सांस्कृतिक मूल्य–मान्यता र दृष्टिकोणलाई आमरूपमा सर्वस्वीकार्य बनाइएको वा सामान्यीकरण गरिएको छ । त्यसैले सीमान्तकृत समुदायको संस्कृति, पहिचान र अभिव्यक्ति थप सङ्कुचित भइरहेको छ । सांस्कृतिक अभिव्यक्ति र पहिचानहरूबाट तिनै वर्चस्वशाली वर्गले फाइदा उठाएका छन्, जसले हिजो ऐतिहासिक रूपमा त्यस्ता सीमान्तकृत समुदायमाथि दमन र शोषण गरेका थिए ।

त्यसैले सांस्कृतिक कारकहरू र विशिष्ट सांस्कृतिक परिवेशले नयाँ मिडियाको प्रयोग तथा सामग्रीको उत्पादन, वितरण, ग्रहण र उपभोगमा प्रभाव पार्छ । सांस्कृतिक मूल्य–मान्यता तथा विश्वास, भाषा, शिक्षा तथा ज्ञानप्रणाली, सामाजिक संरचना तथा गतिशीलता, सामाजिक तथा सांस्कृतिक विविधतासँगै मिडिया साक्षरता र सीप यसका अभिन्न पक्ष हुन् ।

हामीले भने नागरिकको जनपक्षीय विचार निर्माणमा सामाजिक सञ्जाल अर्थात् नयाँ मिडियाका प्रभावलाई राम्ररी केलाउनु, बुझ्नु र अङ्गीकार गर्नु जरुरी छ । जसरी विपरीत खेमाले यसलाई वर्चस्व, सशक्तीकरण र प्रतिरोधको नयाँ साधनका रूपमा उपयोग गरेको छ, हामीले पनि सामाजिक न्याय तथा समाजवादसम्मको अभियानमा यसको वर्चस्वपूर्ण उपयोग गर्नु जरुरी छ ।

अर्थपूर्ण सामग्रीको प्रस्तुतिमार्फत पाठक, स्रोता एवम् दर्शकलाई सशक्तीकरण गर्ने रणनीति तय गर्नु जरुरी छ । प्रचारमा चेतना र प्रविधि दुबैको गहिरो सम्बन्ध हुन्छ तर चेतनालाई प्राथमिकता दिंदै प्रविधिको प्रभावकारी उपयोग गर्नेमा हामी पोख्त हुनैपर्छ ।

  • वर्चस्व बुझौँ 

स्पष्ट जानकारी, प्रत्यक्ष नियन्त्रण वा दवावबिना नै परोक्ष मत वा शक्ति निर्माण गर्ने पुँजीवादी चरित्र नै नयाँ मिडियाको मूल प्रवृत्ति हो । त्यसको उद्देश्य के हो भने विद्यमान वा स्थापित शक्ति संरचनालाई बचाइराख्ने, विपक्षी, विरोधी वा प्रतिपक्षी मूल्य र विचारहरूलाई बहिस्कार गर्ने नै हो ।

यस्तो शक्ति प्रायः अदृश्य हुने भएकाले सामान्यतः यसलाई हलुका रूपमा लिइन्छ । फलस्वरूप त्यो स्वीकार्य बन्दै जान्छ र यसलाई चुनौती दिन वा प्रतिरोध गर्न मुस्किल पर्दै जान्छ । वर्चस्वलाई बुझ्नु भनेको समाजमा शक्ति वा सत्ताको सञ्चालन कसरी हुन्छ भनेर बुझ्नु र त्यही अनुसारको प्रतिरणनीति बनाउनु हो, जसबाट समाजका वर्चस्वशाली सांस्कृतिक मूल्य, विचार तथा विश्वासहरूलाई चुनौती दिन सकिन्छ ।

  • वर्चस्वको टकराब 

नयाँ मिडियाको प्रभावसँगै यसमार्फत वर्चस्व स्थापित गर्न शक्ति राष्ट्रका बीच नयाँ सङ्घर्ष सुरु भएको छ । यसमा राजनीतिसँगै व्यापार सङ्घर्ष समेत जोडिएको छ । अमेरिकाले चिनियाँ कम्पनी टिकटकमाथि प्रतिबन्ध लगाउनुको एउटा कारण अमेरिकी कम्पनी अल्फाबेट, मेटा र स्न्यापको प्रोत्साहन गर्नु भएको अमेरिकाबाट प्रकाशित हुने फोब्र्स पत्रिकाले जनाएको छ ।

टिकटकमाथि प्रतिबन्ध लगाउँदा अमेरिकाका यी तीन कम्पनीहरूले आफ्नो बजार प्रभाव बढाउने विश्लेषण गरिएको छ । टिकटकलाई पाखा लगाएपछि अल्फाबेट, मेटा र स्पटलाइटको माउ कम्पनी स्न्यापको शेयर बढ्ने अनुमान गरिएको थियो । तर, प्रतिबन्ध लगाए पनि सबैभन्दा लोकप्रिय सामाजिक सञ्जालका रूपमा त्यहाँ टिकटक नै स्थापित छ । यहाँ स्मरणीय छ, नेपालमा टिकटकमाथिको प्रतिवन्ध शक्ति राष्ट्रको प्रभाव र दबाबकै परिणाम हो ।

  • वर्चस्वविरुद्ध के गर्ने ?

सीमान्तकृत समुदायका आवाजहरूको प्रवद्र्धनका लागि सूचना तथा ज्ञानमा पहुँच, त्यस पक्षधरहरूको सञ्जाल वा सङ्गठन निर्माण तथा नेटवर्किङ र सामाजिक परिवर्तनको वकालत नै नयाँ मिडियालाई पुँजीवादी वर्चस्वविरुद्ध खडा गराइराख्ने अस्त्र हो । त्यसमार्फत समाज, अर्थतन्त्र, पूर्वाधार र विकास जस्ता जनपक्षीय उपलब्धिहरूको प्रचारप्रसार गर्ने, जनपक्षीय शक्तिको सशक्त तथा विश्वसनीय छवि निर्माणका लागि सन्देश प्रवाहमा नियमितता तथा एकरूपता कायम गर्ने, जनसमुदायका सरोकार, गुनासा र समस्या सुन्न, बुझ्न तथा प्रभावकारी ढङ्गले सम्बोधन गर्न नतिजाउन्मुख वातावरण सिर्जना गर्ने, जनसम्बन्ध निर्माण तथा सुधार गर्ने । सन्देशहरू सिर्जना गर्दा कथा वाचन शैली प्रयोग गर्ने ताकि उक्त कुराले पाठक, श्रोता, दर्शक वा जनसमुदायको भित्री भावना जागृत गर्न सकोस् । त्यो भनेको तथ्य, प्रमाण, उदाहरण तथा सन्दर्भहरूसहित आफ्ना कुरालाई पुष्टि गर्नु हो ।

पढ्नेहरू घटेका छन् र पढ्ने तरिका पनि फेरिएको छ । त्यसैले सकभर सकारात्मक शैली र भाषा प्रयोग गर्ने, छलफल वा बहसलाई नतिजाउन्मुख बनाउन कोसिस गर्ने । परम्परागत मिडिया, इन्टरनेटमा आधारित सञ्चार, सोसल मिडिया र व्यक्तिगत तथा सामूहिक सञ्चारले प्रस्तुत गर्ने सामाग्री तथा समुदायमा हुने स–साना कार्यक्रमका सकारात्मक कुरालाई जनसमक्ष पु¥याउन लागिपर्ने । आलोचनाहरूबाट भाग्ने होइन त्यसलाई रचनात्मक रूपमा सम्बोधन गर्ने । जहाँ आलोचना हुन्छ, त्यहाँ अरुलाई सहमत गराउने अवसर पनि प्राप्त हुन्छ, उक्त अवसरको सही उपयोग गर्दा स्वयको परिपक्वता पुष्टि हुन्छ ।

जनसमुदायको तल्लो हिस्सासम्म पुग्ने गरी सन्देशहरूमा विविधता ल्याउने, स्थानीय कमिटीका पहल र उपलब्धि के छन् ? त्यसकारण जीवनमा परिवर्तन आएका व्यक्तिहरू को छन् ? उनीहरूको कथा लिपिबद्ध गर्ने, भिडियो बनाउने । सञ्चारमा पारदर्शिताको महत्व मुख्य हुन्छ । यसर्थ, नीति, निर्णय प्रक्रिया र भावी योजनाहरूका सन्दर्भमा पारदर्शिता अपनाउने, ताकि जनसमक्षमा विश्वास वृद्धि गर्न सकियोस् । जनपक्षीय दर्शन र सिद्धान्तका बारेमा आन्तरिक कमिटीलाई मात्र नभएर जनतालाई पनि शिक्षित, प्रशिक्षित गरिरहने । त्यसका लागि छोटा भिडियोहरू, आकर्षक पोस्टरहरू प्रवाह गर्ने ।

सोसल मिडियाहरूमा लेख्दा, बोल्दा वा प्रतिक्रिया दिँदा सकारात्मक रूपमा प्रस्तुत हुने । गालीगलौज र धम्कीले व्यक्ति तथा कमिटीको छविमा झन् नकारात्मक असर परिरहेको हुनसक्छ । सामाजिक एकता र समावेशिता प्रवद्र्धन हुने गरी सञ्चार सामग्रीहरू निर्माण गर्ने, भाषाको प्रयोगमा पनि समावेशी हुने । निश्चित जाति, लिङ्ग वा समुदायलाई होच्याउने खालका भाषा तथा शब्द प्रयोग नगर्ने र संविधानले बन्देज गरेका कुराहरूमा सम्वेदनशीलता अपाउने ।

समकालीन विश्वपरिवेश, क्षेत्रीय, राष्ट्रिय तथा स्थानीय मुद्दाहरू, जनपक्षीय संस्थागत नीति, कार्यक्रम र रणनीतिहरूबारे जनसमुदायलाई नियमित प्रशिक्षित गर्ने । विपक्षी÷विरोधीका कमजोरीहरूबारे जनसमुदायलाई जानकारी दिने र त्यहीअनुसारको मनोविज्ञान निर्माण गरी त्यसलाई जनहितका पक्षमा सदुपयोग गर्ने । यसलाई नागरिकमुखी पत्रकारिता पनि भन्न सकिन्छ ।

  • के हो नागरिकमुखी पत्रकारिता ?

वेबसाइट, ब्लग र सामाजिक सञ्जालहरू प्रयोग गरेर जनताले जनतालाई नै सूचित गर्ने अभ्यास नागरिक पत्रकारिता हो । यसको व्यवस्थित जग दक्षिण कोरियाबाट निर्माण भएको हो । सन् २००० देखि यस माध्यमले फड्को मार्दै आएको छ ।

दक्षिण कोरियाका अनलाइन उद्यमी ओह येओन–होको नेतृत्व टिमले ‘सबै नागरिक रिपोर्टर’को अवधारणा ल्याएको हो । त्यसमा स्वयंसेवकहरू नै प्रयोग गरिए । अहिले विश्वभरि इन्टरनेटले लाखौँ समाचार साइट र ब्लगहरू जन्माएको छ, जसलाई सहभागी पत्रकारिता भनिएको छ । इन्टरनेटमार्फत हुने शोषण अन्त्यका लागि पनि हामीले सहभागितामूलक नागरिक पत्रकारितालाई स्थापित गर्नु जरुरी छ ।

जाने श्रीखण्ड र नजाने खुर्पाको बिँड भने जस्तै हो यो सामाजिक मिडिया । यसलाई सही ढङ्गले प्रयोग नगर्दा भने यसले उल्टो नोक्सानी गर्नेछ । उल्टो शोषण गर्नेछ । इन्टरनेटमा आधारित सोसल नेटवर्किङ साइटहरूले युजर (प्रयोगकर्ता) लाई निःशुल्क काममा लगाउँछन् र युजर जेनेरेडेट कन्टेन्ट (प्रयोगकर्ताले उत्पादन गर्ने सामग्री) का आधारमा पैसा कमाउँछन् । अल्गोरिदम र आर्टिफिसियल इन्टेलिजेन्समार्फत प्रयोगकर्ताका एक–एक गतिविधिमा नजर राख्छन् र प्रयोगकर्ताको व्यवहारका आधारमा विज्ञापन देखाएर कमाउँछन् । जति बढी भिजिटर, उति विज्ञापन, जति विज्ञापन, उति नाफा, जति नाफा, उति शोषण ।

हामी सोसल मिडियामा फोटो हालेर रमाउँछौँ, उता ठूला टेक कम्पनीहरू मालामाल हुन्छन् । यता हामी निराश हुन्छौँ र केही लेख्छौँ, उता ठूला टेक कम्पनीहरू मालामाल हुन्छन् । यसलाई सही रूपमा प्रयोग गरियो भने वा उत्पीडित वर्ग र समुदायको पक्षमा नागरिक पत्रकारिता गरियो भने टेक कम्पनीहरुको आधुनिक शोषणको माखेसाङ्लो तोड्न मद्दत पुग्नेछ ।

  • समाजवादी यात्राको माध्यम 

सामाजिक सञ्जालको सही प्रयोगले समाजवादी आधार निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । जसरी आजको विश्वमा पुँजीवादको शोषण जारी राख्न तथा फासिवादी विचार सही हो भन्न उनीहरु सफल छन् । सामाजिक सञ्जालले विचारहरूको आदानप्रदान गर्न तथा राजनीतिक र सामाजिक आन्दोलन निर्माणका लागि सङ्गठन, संजाल र व्यापक जनसमुदायसँग संवाद स्थापना गर्ने क्षमता राख्दछ ।

समाजवादको आधार निर्माणका लागि सांस्कृतिक रूपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभूत कुरा हो । फेरि यो स्वतःफुर्त हुँदैन । समाजवादी विचारधारा र संस्कृति निर्माणको पक्षमा सम्पूर्ण जनपक्षीय पार्टी, सङ्गठन र मोर्चाहरूले सचेततापूर्वक पहल बढाउनुपर्छ । तर, यो सजिलो चाहिँ छैन । यसविरुद्ध उत्तिकै प्रहार आउन सक्छन् । समाजवादी सञ्चार (पत्रकारिता) गर्ने ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी कार्ल माक्र्सलाई समेत अमेरिकासहित पश्चिमा शासकहरुले भीड उत्तेजित गर्ने अराजक पत्रकार (rabble-rousing journalist) काे संज्ञा दिएकाे सन्दर्भ यहाँ स्मरणीय छ । तर, स्वतन्त्र मस्तिक र साहसबाट मात्रै नयाँ–नयाँ आविस्कार गर्न सकिन्छ भन्ने कुरा माक्र्सले स्थापित गरेरै छाडे ।

सन् १९९० को दशकपछि इन्टरनेट व्यापारिक हिसाबले प्रयोगमा आएसँगै यो प्लेटफर्म बोल्ने, हेर्ने र सुन्ने प्रभावकारी सञ्चारका रूपमा देखियो । २१औँ शताब्दीको पहिलो दशकदेखि समाजवादीहरूले पनि यसमार्फत आफ्ना सिद्धान्त, राजनीति, इतिहास, संस्कृति आदिबारे प्रचार, छलफल गर्न जोड दिदै आएका छन् । तर, हामी के कुरामा स्पष्ट हुनुपर्छ भने स्मार्ट फोन र सामाजिक मिडियाले समाजवादी, प्रगतिशील सामग्री उत्पादन गर्ने होइनन्, सामाजिक एवम् प्रगतिशील सोच राख्ने सचेत मान्छेले नै त्यो उत्पादन गर्ने हो ।

साम्राज्यवाद, पुँजीवाद र यथास्थितिवाद विरुद्धको सङ्घर्षमा सडक र संस्थागत प्रतिरोध मात्र पर्याप्त हुँदैन । सँगसँगै सामाजिक मिडिया प्लेटफर्मको अधिकतम उपयोग गरिनु पर्छ । धेरै श्रमिक वर्गहरु अझै इन्टरनेटबाट वञ्चित छन् । तर, नयाँ मिडिया मार्फतका प्रस्तुतिहरूलाई उनीहरूको बीचमा समेत पु¥याउने मिहिन वैचारिक प्रयत्न हुनु जरुरी छ ।


क्याटेगोरी : बिचार

प्रतिक्रिया


ताजा अपडेट