Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

उच्च रक्तचाप : १४ भ्रम र सत्यता


उच्च रक्तचाप अहिले आम समस्या नै बनेको छ । हरेक पाँच जनामध्ये एकजनामा उच्च रक्तचापको औषधि सेवन गरिरहेका बिरामी भेटिन्छन् । बिरामीको संख्या बढेसँगै सम्बन्धी व्यक्तिपिच्छे राय पनि सुनिन्छ ।

कतिपय भन्छन्, उच्च रक्तचापका बिरामीले यो खान हुन्न, त्यो खानुपर्छ ? यस्ता व्यक्तिलाई छिटो रिस उठ्छ ? तीतो खानेकुरा जति खायो त्यति रक्तचाप नियन्त्रण गर्छ ? लगायत यावत् कुरा धेरै सुनिन्छ । तर यस्ता कुरामा कतिको सत्यता छ त ?

यस्तै, उच्च रक्तचापसम्बन्धी केही भ्रम छन्, जुन पहिलेदेखि सुनिंदै आएको छ ।

भ्रम : तीतो खानेकुराले उच्च रक्तचाप नियन्त्रण गर्छ ।

सत्य : तीतो खानेकुराले उच्च रक्तचाप नियन्त्रण गर्छ भन्ने एउटा भ्रम मात्र हो ।

किनभने तीतो खानेकुराले केही क्षणको लागि मात्रै काम गर्छ । तीतो खानेकुरामा पोटासियम र म्याग्नेसियम हुन्छ । पोटासियमले शरीरमा भएको सोडियमलाई पानीको माध्यमबाट पिसाब बनेर बाहिर निकाल्छ । शरीरमा रगतको मात्रा कम गराएर धमनीको भित्तामा हुने चापलाई कम गर्छ । जसको असर केही समयको लागि मात्र हुन्छ ।

तर रक्तचापका बिरामीलाई औषधिले जस्तो तीतो खानेकुराले २४ घण्टा रक्तचापलाई नियन्त्रण गरेर राख्न सक्दैन ।

भ्रम : आयुर्वेदिक औषधिले उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।

सत्य : धेरैजसो उच्च रक्तचाप भएका व्यक्तिले खाइरहेको औषधि खान छाडेर आयुर्वेदिक औषधि खाएको भेटिन्छ ।

सबै कुरा खाएर हेर्न सकिन्छ । तर यस्ता औषधिमा विना जानकारी भर परेर मात्र खानु उचित हुँदैन । किनभने धेरैजसो औषधिमा अध्ययन तथा अनुसन्धान भएका छैनन् । कुनै औषधि निश्चित मात्रा भन्दा बढी खानु हुँदैन ।

त्यसैले रक्तचापको स्तर अनुसारको मात्रा उल्लेख भएको र प्रमाणित औषधि चिकित्सकको सल्लाहमा खानुपर्छ ।

भ्रम : रक्तचाप छ तर लक्षण नदेखिएसम्म औषधि खानुपर्दैन ।

सत्य : यो रक्तचापसम्बन्धी ठूलो भ्रम हो । रक्तचापलाई ‘साइलेन्ट किलर’को समस्या पनि भनिन्छ । यो अर्थ रक्तचाप बढ्नेबित्तिकै लक्षण देखिहाल्छ भन्ने हुँदैन । रक्तचाप बढ्ने ५० प्रतिशतमा मात्र लक्षण देखाउँछ ।

यस्तोमा लक्षणको आधारमा औषधि खाने कि नखाने भन्ने हुँदैन । औषधि खाने कुरा रक्तचापको स्तर कति छ त्यसअनुसार तय हुन्छ । त्यसैले लक्षण कुरेर बस्नु हुँदैन ।

भ्रम : उच्च रक्त चाप भएका व्यक्तिले व्यायाम गर्न हुँदैन ।

सत्य : उच्च रक्तचाप भएका व्यक्तिले पनि व्यायाम गर्न सक्छन् । एरोबिक व्यायामले उच्च रक्तचापको स्तर घटाउन मद्दत गर्छ ।

रक्तचाप नियन्त्रणमा भएका व्यक्तिले व्यायाम गर्दा कोलेस्टेरोलको स्तर पनि सन्तुलनमा आउँछ । तर उच्च रक्तचापको स्तर अत्याधिक मात्रामा बढिरहेको अवस्थामा शरीरलाई भार पर्ने खालका व्यायाम गरेमा नाकबाट रगत बग्नेदेखि अन्य मुटुसम्बन्धी समस्या आउन सक्छ ।

यस्ता व्यक्तिको लागि हिंड्ने, दौडिने र अन्य मध्यम खालका व्यायाम गर्नु उपयुक्त हुन्छ । तर जस्तोसुकै व्यायाम होस्, एकपटक चिकित्सकको सल्लाह भने लिनैपर्छ ।

भ्रम : दैनिक हल्का वाइन पिउँदा उच्च रक्तचाप नियन्त्रणमा सघाउँछ ।

सत्य : उच्च रक्तचाप नियन्त्रणका लागि वाइन औषधि हुन्छ भन्नु पनि भ्रम हो । वाइन एक मदिराजन्य पेय हो । अन्य मदिराले झैं यसले पनि असर गर्छ । वाइनले मुटुको धमिनी रहेको मांसपेशीलाई असर गरी साँघुरो बनाउँछ, जसले मुटुलाई पम्प गर्न कठिन पार्छ ।

उच्च रक्तचाप : ‘लक्षण नदेखाई मान्छेलाई मृत्युको मुखमा पुर्‍याउँछ’

भ्रम : उच्च रक्त चाप भएकालाई बढी रिस उठ्छ ।

उच्च रक्तचाप भएकालाई मात्र बढी रिस उठ्छ भन्ने हुँदैन । यो व्यक्तिको स्वभावमा र वरपरको वातावरणमा भर पर्ने कुरा हो ।

कहिलेकाहीं रिस अन्य लक्षण जसरी रिस र आवेग पनि देखिन सक्छ । त्यस्तै व्यक्ति शान्त स्वभावको छ । उसमा कुनै प्रकारको आवेग देखिंदैन भने पनि अन्य जोखिम कारक तत्वले उच्च रक्तचाप हुनसक्छ ।

भ्रम : उमेर कम हुँदा उच्च रक्तचाप देखिंदैन ।

धेरैमा कम उमेरमा उच्च रक्तचाप हुँदैन । यो बुढ्यौलीमा मात्र यसको जोखिम हुन्छ भन्ने भ्रम छ ।

उमेर ४० काटेपछि उच्च रक्तचापको जोखिम बढी हुन्छ । यसको मतलव युवा उमेरमा हुँदैन वा हुनसक्दैन भन्ने होइन ।  उच्च रक्तचापले उमेर भन्दैन । विलाशीलता,  वंशाणुगत कारण, कम उमेरमै मिर्गौलामा समस्या, हार्मोनमा समस्या र अन्य कारणले युवा उमेरमै रक्तचापको स्तर बढ्न सक्छ ।

भ्रम : औषधि आजीवन खानुपर्छ ।

सत्य : उच्च रक्तचाप भइसकेपछि आजीवन औषधि खानुपर्छ भन्ने धारणा छ । यस्तोमा कति त औषधि सुरु गरेपछि सधैं खानुपर्ने झन्झट हुन्छ भनेर उपचारमै नगएको पनि देखिन्छ । तर यी कुरामा पूर्ण सत्यता छैन ।

औषधि चलाउनुपर्ने हो ? कति मात्राको दिनुपर्ने हो ? भन्ने कुरा रक्त चाप स्तर कतिको छ, त्यसमा भर पर्छ । कतिपय अवस्थामा औषधिबीचमै रोक्न सकिने अवस्था पनि हुनसक्छ ।

उदारहणका लागि एक व्यक्ति सुरुवातमा अस्पतालमा आउँदा रक्तचाप उच्च छ, तौल अत्याधिक बढी छ,  खानपिनमा खासै नियन्त्रण छैन, यस्तोमा औषधि चलाइयो ।

तर समय बित्दै जाँदा खानपिन नियन्त्रणमा राख्यो, व्यायाम ठीक मात्रा भइरहेको छ, तौल घटेको छ भने औषधिको मात्रा घट्ने हुनसक्छ । त्यसमा पनि जीवनशैली परिवर्तन लगातार भइरहेमा औषधि नै रोक्न मिल्ने अवस्था समेत आउन सक्छ ।

भ्रम : बुवामा उच्च रक्तचाप भएपछि सन्तानमा पनि शतप्रतिशत हुनसक्छ ।

सत्य : रक्तचाप पक्कै पनि वंशाणुगत रुपमा देखिन सक्ने सम्भावना बोकेको समस्या हो । तर परिवारमा बाबुआमामा देखिएको छ भने उनीहरुको सन्तानमा शतप्रतिशत हुन्छ नै भन्ने हुँदैन । यसरी अनुमान गर्नुभन्दा पनि बेलाबखतमा रक्तचापको स्तर मापन भने गर्न सकिन्छ ।

भ्रम : उच्च रक्तचाप नियन्त्रण गर्न नुन मात्र कम गरे पुग्छ ।

सत्य : उच्च रक्तचाप भएकाले खानामा नुन कम खान्छन्, जुन राम्रो पक्ष हो । ज्यादा नुन खाँदा कसैलाई पनि हानि गर्दैन । तर उच्च रक्तचाप भएको व्यक्तिले खानामा नुन कम गरेर मात्र नियन्त्रण हुँदैन । त्यसका लागि चिकित्सकले सिफारिस गरेको औषधि र जीवनशैली परिवर्तन गर्नै ठूलो औषधि हो ।

त्यस्तै नुन कम गर्ने भनेर खानामा मात्र कम गरेर हुँदैन । नुन प्याकेटमा राखिएका धेरैजसो खानेकुरामा हुन्छ । यस्ता खानेकुरा खरिद गर्दा वा खाँदा नुनको मात्रा कम गर्नु आवश्यक छ ।

उच्च रक्तचापको औषधि सुरु गरेपछि मनलाग्दी गर्न मिल्छ ।

सत्य : रक्तचापको औषधि खाएपछि खानपिनमा ध्यान नदिंदा पनि हुन्छ । जे चाहे त्यो गर्न सक्छु भन्ने भान पनि धेरैमा देखिन्छ । जुन गलत हो । औषधिले मात्रै रक्तचाप नियन्त्रण गर्न सक्दैन ।

औषधिसँगै मनलाग्दी खाने, तनाव लिने र विलासी जीवन बिताउँदा थप रक्तचाप बढ्न सक्छ । र, औषधिको मात्रा पनि थप बढाउनुपर्ने हुनसक्छ ।

त्यसैले, चिकित्सकले सिफारिस गरेको औषधिसँगै  चिन्तारहित जीवन अपनाउनुपर्छ, सुपाच्य खानेकुरा खानुपर्छ, सक्रिय जीवन बिताउनुपर्छ ।

उच्च रक्तचाप निको पार्न सकिन्छ

सत्य : यो समस्या नियन्त्रण हुनसक्छ तर निको पार्न सकिंदैन । कतिपय अवस्थामा चिकित्सकको सल्लाहमा खानेकुराको मात्रा मिलाएर, व्यायाम, योगा गर्ने र तनाव व्यवस्थापन गरेर पनि उच्च रक्तचाप नियन्त्रण भई औषधिको मात्रा कम गर्न र रोक्न सकिन्छ ।

औषधि रोक्नुको अर्थ उच्च रक्तचाप नियन्त्रण भएको हो, मुक्त भएको होइन ।

वरिष्ठ मुटुरोग तथा मुटुको चाल विशेषज्ञ


क्याटेगोरी : स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट