Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

पालिका अध्यक्षले उपचार शुल्क तिरिदिएपछि डिस्चार्ज भए चन्द्रबहादुर


उपचार शुल्क तिर्न नसकेर अस्पतालबाट डिस्चार्ज नभएका मनहरी गाउँपालिका–८ निवासी चन्द्रबहादुर बोटेको उपचारका लागि भएको सम्पूर्ण खर्च पालिका अध्यक्ष रन्जन कालाखेतीले चुक्ता गरिदिएका छन्।

सडक दुर्घटनामा घाइते भएका चन्द्रबहादुरको निधार र ढाडमा गम्भीर चोट लागेको थियो। चितवनको भरतपुरस्थित एभरेस्ट अस्पतालमा उपचारपश्चात् डिस्चार्ज हुने समयमा १ लाख ३३ हजारको बिल भुक्तानी गर्न नसकेपछि उनी समस्यामा परेका थिए।

गाउँपालिका अध्यक्ष कालाखेतीले सेवा सुविधाबापत् प्राप्त रकमबाट ७० हजार र पालिकाबाट ५० हजार रुपैयाँ रकम उपलब्ध गराएर उनको डिस्चार्ज गरी घरसम्म पुर्‍याइदिएका हुन्। ‘लोपोन्मुख बोटे समुदायको व्यक्ति,  त्यसमाथि आर्थिक रुपमा विपन्न हुनुहुन्छ भनेर हामीले जानकारी गराएपछि अस्पतालले उपचार खर्चमा १० प्रतिशत छुट दियो’, अध्यक्ष कालाखेतीले भने।

घरको मुख्य जिम्मेवारीमा भएको मानिस नै घाइते भएर अस्पतालको बेडमा पुगेपछि राप्ती खोलामा माछा मारेर गुजारा चलाउने चन्द्रबहादुरको परिवारलाई छाक टार्नै मुस्किल भएको थियो।

चन्द्रबहादुरलाई केही दिन अघि ठक्कर दिने मोटरसाइकललाई प्रहरीले हालसम्म पहिचान गर्न सकेको छैन। जसका कारण उनको उपचारमा समस्या भएको थियो।

अध्यक्ष कालाखेतीले आवश्यक परे उनको स्वास्थ्य उपचारमा थप सहयोग गर्ने प्रतिवद्धता जनाए। उनले मनहरीबासीले उपचार अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न योजनावद्ध रुपमा काम गरिरहेको जानकारी दिए।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट