जब बालेनले माओवादी र रास्वपा कार्यालयमा फोहोर बोकेको ट्रक पठाए
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सोमबार दिउँसो फोहोर बोक्ने ट्रकका चालक पक्राउ परेको भन्दै सिंहदरबार, पार्टी कार्यालय र नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिए ।
‘भ्रष्टलाई समाउन सक्नुभएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनुभएछ यो सरकारले’, फेसबुकमा बालेनले लेखेका थिए, ‘जबसम्म चालकहरूलाई ससम्मान रिहा गरिँदैन तबसम्म सिंहदरबार लगायत सबै पार्टी कार्यालय र नेताका घरको फोहोर उठ्दैन ।’
बालेनको यो स्टाटस काठमाडौं उपत्यकाको फोहोर बिसर्जन हुँदै आएको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्न स्थानीय बासिन्दाले अवरोध गरेको घटनासँग सम्बन्धित थियो ।
शनिबारदेखि बञ्चरेडाँडामा रोजगारीको माग राखेर बलामी युवा समाजले फोहोर रोकेको थियो । उनीहरुले फोहोर लिएर जाने गाडीलाई अवरोध गर्ने क्रममा फोहोर बोक्ने निजी कम्पनीका चारवटा गाडीमा क्षति भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
त्यसपछि महानगरपालिकाले प्रशासनसँग अनुरोध गरेर अवरोध खुलाउन भनेपनि जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला प्रहरी कार्यालय नुवाकोटले सहयोग नगरेको महानगरपालिकाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले बताए ।
‘हामीले प्रहरीसँग फोहोरको अवरोध हटाउन अनुरोध गर्यौं, तर उहाँहरुले आदेश छैन भनेर टार्नुभयो’, उनले भने, ‘फोहोरमा राजनीति गरेको प्रष्टै देखियो, फोहोर ४/५ दिन रोकिँदा यसको संकलन र ढुवानीको साइकल नै बिग्रने भएकाले तत्काल एक्सन लिनुपर्नेमा झारा टार्ने काम भयो ।’
सोमबार विहान महानगरपालिकाको फोहोर बोकेका गाडी माओवादी पार्टी कार्यालय पेरिस डाँडा र राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बनस्थली पुगेका थिए । त्यहाँबाट फोहोर बोक्ने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसपछि काठमाडौं महानगरपालिकाले सोमबार बिहान फोहोर बोकेको ४ ट्रक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडा र ४ वटा गृहमन्त्री रवि लामिछानेको पार्टी कार्यालय बनस्थलीमा पठाएको थियो ।
लम्सालका अनुसार फोहोर बोकेको गाडी पार्टी कार्यालयमा पठाएको खबर पनि प्रधानमन्त्री र गृहमन्त्रीलाई दिइएको थियो ।
रास्वपा पार्टी कार्यालयतर्फ गएका ट्रकलाई प्रहरीले बाटैमा रोकेको थियो भने पेरिसडाँडा गएका ट्रकका चालक भने पार्टी कार्यालयको गेटमै पक्राउ परेका थिए ।
त्यसपछि मेयर बालेन शाहले फेसबुकमा स्टाटस लेखेको र स्टाटस लेखेको केहीबेरमा ट्रक चालकहरु रिहा भएका र बञ्चरेडाँडाको अवरोध पनि हटेको लम्सालले बताए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया