Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

ऊर्जा तथा जलविद्युतमा बढ्दो लगानी


निजी क्षेत्रमा जाने कर्जाको वृद्धि सुस्ताइरहेको समयमा ऊर्जा तथा जलविद्युत क्षेत्रमा भने कर्जा लगानी बढ्दै गएको छ । चालु आवको चैत मसान्तसम्ममा ३ खर्ब ४२ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी विद्युत क्षेत्रमा भएको छ, जुन गत आवको ९ महिनाको तुलनामा १४.५ प्रतिशत बढी हो ।

गत आवको ९ महिनामा यस क्षेत्रमा गएको कर्जा ५.६ प्रतिशतले घटेर २ खर्ब २५ अर्ब रुपैयाँमा सीमित भएको थियो । चालु आवको यही अवधिमा बढेर ३ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको हो । गत असार मसान्तमा यस क्षेत्रमा २ खर्ब ९९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो । असारको तुलनामा चैतसम्ममा १४.५ प्रतिशत बढी कर्जा प्रवाह भएको हो ।

अर्थतन्त्रको शिथिलताका कारण बजार सुस्त बन्दा अन्य क्षेत्रमा कर्जाको माग नभइरहेको बैंकरहरू बताउँछन् । निजी क्षेत्रले पनि आधाभन्दा कम क्षमतामा उद्योगधन्दा सञ्चालन गर्दा कर्जाको माग गर्नुपर्ने आवश्यकता नै नभएको भन्दै कर्जाको माग गर्न सकेको छैन । निजी क्षेत्रमा जाने कर्जा अपेक्षाकृत रुपमा नबढे पनि प्राथमिकता प्राप्त क्षेत्रमा भने बैंक तथा वित्तीय संस्थाले व्यवस्था अनुसारकै कर्जा प्रवाह बढाउन सकेका छन् ।

अहिलेको अवस्थामा सरकारले प्राथमिकता दिएको ऊर्जा तथा जलविद्युत क्षेत्रमा भने बैंक तथा वित्तीय संस्थाहरूले लगानी बढाउँदै गएका छन् । पछिल्लो समय सरकारले समेत उच्च प्राथमिकतामा राखेको ऊर्जा क्षेत्रमा लगानीको आकर्षण बढिरहेको बैंकरहरू बताउँछन्, जसलाई तथ्यांकले समेत पुष्टि गर्छ ।

चालु आर्थिक वर्षको ९ महिनासम्ममा ५१ खर्ब २८ अर्ब रुपैयाँभन्दा बढी कुल कर्जा विस्तार भएको छ । त्यसमध्ये ३ खर्बभन्दा बढी उर्जा क्षेत्रमा कर्जा प्रवाह भएको तथ्यांकमा देखिन्छ । राष्ट्र बैंकले २०८४ असार मसान्तसम्ममा बैंक तथा वित्तीय क्षेत्रले ऊर्जा तथा जलविद्युत क्षेत्रमा कुल लगानी गरेको कर्जाको १० प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । जसअनुसार २०८१ असार मसान्तसम्ममा बैंकहरूले यस क्षेत्रमा ६.५ प्रतिशत कर्जा लगानी गरिसक्नु पर्नेछ ।

नियामकीय व्यवस्थाका कारण पनि बैंक तथा वित्तीय संस्थाले अहिले प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा लगानी बढाइरहेका हुन् । बैंकरहरूका अनुसार अहिले मुलुकमा जलविद्युत परियोजना निर्माण भइरहेका कारण पनि त्यसतर्फ कर्जा विस्तार बढेको छ । साथै पछिल्लो समय सरकारको लक्ष्य नै विद्युत निर्यात गर्ने भएपछि त्यसतर्फ सरोकारवालाको मनोबल पनि बढेकाले कर्जा लगानी बढ्न पुगेको जानकारहरू बताउँछन् ।

नियामकीय व्यवस्थामा सहजीकरण हुँदा पनि यसतर्फ जाने कर्जा बढिरहेको हो । यस्तै, विगतमा सहमति भएका परियोजना अहिले निर्माणको चरणमा जाँदा पनि कर्जा प्रवाह बढेको छ । चालु आवको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरूले कुल कर्जाको ७.४३ प्रतिशत जलविद्युत तथा ऊर्जा क्षेत्रमा लगानी गरेका थिए । जसमध्ये सर्वाधिक धेरै सानिमा बैंकले ११.२० प्रतिशत कर्जा लगानी गरेको थियो । यस्तै, एनएमबि बैंकले १०.५७ प्रतिशत कर्जा लगानी गर्दा कुमारी बैंकले १०.२६ प्रतिशत लगानी गरेको थियो ।

सबैभन्दा कम लगानी गर्नेमा एनआईसी एशिया बैंक थियो भने अन्य केही बैंकले पनि लक्ष्यभन्दा कम कर्जा लगानी गरेका थिए । तर समग्रमा हेर्दा प्रायः बैंकहरुले पुससम्ममा नै जलविद्युत क्षेत्रमा लक्ष्यभन्दा बढी कर्जा लगानी गरेका थिए । चालु आवको अन्तिमसम्ममा यस क्षेत्रमा कर्जा लगानी झनै बढ्ने जानकारहरू बताउँछन् । सरकारले प्राथमिकताका साथ यस क्षेत्रलाई अगाडि बढाएपछि बैंक तथा वित्तीय संस्थाले पनि यस क्षेत्रमा कर्जा लगानी बढाएका हुन् ।

अन्य क्षेत्रमा कर्जा विस्तार वृद्धि सुस्ताए पनि प्राथमिकता प्राप्त क्षेत्रमा भने बैंकहरूले सहज रुपमा कर्जा विस्तार गर्नु सकारात्मक भएको सरोकारवालाहरू बताउँछन् । विद्युत उत्पादन गर्ने निजी कम्पनीहरूको संस्था स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपालले सरकारले अहिले जलविद्युत तथा ऊर्जा क्षेत्रमा अनिवार्य १० प्रतिशत कर्जा लगानी गर्नुपर्ने व्यवस्थामाथि संशोधन गर्ने बताउँदै आएको छ । अब २० प्रतिशत कर्जा अनिवार्य यस क्षेत्रमा लगाउनुपर्ने भन्दै सरकारलाई सुझाव दिइरहेको अवस्थामा अहिलेको लक्ष्य भने भेटिने अवस्था बनेको छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट