सन्दीपलाई विश्वकपमा पठाउन क्यानले थाल्यो प्रक्रिया
नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई विश्वकपका लागि पठाउन प्रक्रिया सुरु गरेको छ । क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै विश्वकपमा छनोट भएको नेपाली टिममा सन्दीपलाई सहभागी गराउन गम्भीरताका साथ अन्तर्राष्ट्रिय क्रिकेट परिषद्सँग पहल गरिरहेको जनाएको हो ।
क्यानले वेस्ट इन्डिज र अमेरिकामा आगामी महिनाबाट हुने विश्वकपका लागि सन्दीपलाई पठाउन आवश्यक सबै प्रक्रिया अघि बढाइएको पनि जनाएको छ ।
बलात्कारको मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि क्यानले सन्दीपमाथिको निलम्बन फुकुवा गरेको थियो । त्यसअघि २०७९ भदौमा बलात्कारको उजुरी परेपछि सन्दीप क्यानको निलम्बनमा परेका थिए ।
विश्वकपको तयारीका लागि हाल नेपाली क्रिकेट टिम वेस्ट इन्डिज र अमेरिकामा तयारी गरिरहेको छ । विश्वकपको समूह ‘डी’मा रहेको नेपालले बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
ट्वान्टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन २ देखि सुरु हुँदै छ ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया