सहकारी पीडितले आन्दोलन घोषणा गर्दै भने– तपाईंहरु मिसन ८४ मा आउँदा लखेट्नेछौँ
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सहकारी पीडितहरुलाई एकजुट बनाउँदै शुक्रबारदेखि आन्दोलन थाल्ने घोषणा गरेका छन् ।
महासंघका अध्यक्ष कुशलव केसीले ११ गते ११ बजेदेखि माइतीघरमा रिले अनसन थालेर आफूहरुको माग पूरा नभएसम्म र सबै सहकारी पीडितले बचत नपाएसम्म नरोकिने बताए ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।
“हिजोसम्म हात जोड्यौँ भएन,” उनले भने, “मन्त्रीहरुसँग हारगुहार गर्दै पुग्यौँ, कसैले सुनेनन् । अब ८४ मा तपाईंहरुलाई हाम्रै लेबलमा झार्छौँ । हामी घरघरबाट लखेट्छौँ ।”
सहकारी पीडितले न्याय पाएनन् भने यही एजेन्डा लिएर उमेदवारको विरोधमा उत्रिने बताए ।
“हाम्रो माग पूरा भएन भने ०८४ मा देखाउनेछौँ,” उनले भने, “सहकारीको पीडा सहन नसकेर कहिले पार्क र कहिले चिया पसलमा बैठक बस्यौँ । सहकारीमा ब्याजको लोभमा किन राखेको पैसा ? भनेर सरकारले भन्न मिल्छ ? सरकारलाई सोधेर राखेको हो ? भनेर थर्काउन मिल्छ ? हामीलाई थर्काउने सरकारले सहकारीको किन लाइसेन्स दियो ? गाउँगाउँमा सहकारी, घरघरमा भकारी किन भन्यो ?”
चोरेको र लुटेको धन नभएको भन्दै पसिनाको बचत रकम भएकाले आफ्नो अधिकार लागि लडाइँ लडेको बताए ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया