Techie IT
Samayabaddha
मंगलबार, १८ चैत्र, २०८१

आगामी वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट सार्वजनिक


अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । संविधान अनुसार जेठ १५ मा संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गरिरहेका अर्थमन्त्री पुनले चालु आवको भन्दा ६.२ प्रतिशतले बजेटको आकार बढाएको जानकारी दिए । चालु आवमा सरकारले १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।

अर्थमन्त्री पुनका अनुसार आगामी वर्षका लागि राजस्व संकलनको लक्ष्य १२ खर्ब ६० अर्ब रुपैयाँ राखिएको छ । चालु आवमा यस्तो लक्ष्य १२ खर्ब ४८ अर्ब थियो । यो प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँडबाट जाने राजस्व बाहेक संघीय सरकारका लागि मात्र हो । यस्तै अर्थमन्त्री पुनले ल्याएको कुल बजेटमा राजस्व बाहेक वैदेशिक अनुदान ५२ अर्ब ३२ करोड रुपैयाँ आउने अनुमान गरेका छन् ।

चालु आवमा यस्तो अनुदान ४९ अर्ब ९४ करोड राखिएको छ । राजस्व र अनुदान प्राप्तीले खर्च धान्न नसक्ने भए पछि पुनले ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने तय गरेका छन् । जसअनुसार वैदेशिक ऋण २ खर्ब १७ अर्ब र आन्तरिक ऋण ३ खर्ब ३० अर्ब रुपैयाँ उठाइने छ । अर्थमन्त्री पुनका अनुसार आगामी वर्षका लागि सरकारले तीन खर्ब ५२ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको छ ।

यो चालु आवको भन्दा ५० अर्ब रुपैयाँ बढी हो । यस्तै वित्तीय व्यवस्थापनका लागि ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । चालु आवमा पनि पुँजीगत खर्च भन्दा वित्तीय व्यवस्थापनमा धेरै रकम विनियोजन भएको छ । यस्तै सरकारले आगामी वर्षका लागि चालु खर्चमा ११ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यो चालु आवको बजेट बराबर जस्तै हो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट