Techie IT
Samayabaddha
शुक्रबार, १२ पुस, २०८१

काठमाडौंमा अपराह्नपछि वर्षाको सम्भावना, हिजो भन्दा थोरै शितल हुने


देशका केही स्थानमा आज पनि वर्षा हुनेछ । केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस र वाग्मती प्रदेशमा सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । कोसी प्रदेशका एकदुईस्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

विभागले दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

काठमाडौंमा आज वर्षाको सम्भावना रहेको छ । मौसमविद् गोविन्द झाका अनुसार काठमाडौंमा अपराह्नपछि वर्षा हुनेछ । “काठमाडौंमा ३/४ बजेपछि वर्षाको सम्भावना छ,” उनले भने, “छिटपुटदेखि हल्लका वर्षा मात्रै हुनेछ । काठमाडौंका सबै स्थानमा एकनासले समान वर्षा पनि हुनेछैन ।” स्थानीय प्रणाली सक्रिय भएर वर्षा हुने भएकाले ठूलो र सबैतिर वर्षा नहुने उनको भनाइ छ ।

विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताएकाे छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

काठमाडौंमा आज अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियससम्म हुने पूर्वानुमान छ । हिजो ३४.४ डिग्री सेल्सियस पुगेको थियो । “हिजो साँझ वर्षा भएको र आज पनि अपराह्नपछि वर्षाको सम्भावना रहेकाले हिजोको जति तापक्रम पुग्ने सम्भावना कमै छ,” मौसमविद् झाले भने ।

नेपालमा हाल स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट