Techie IT
Samayabaddha
शुक्रबार, १२ पुस, २०८१

पौडोलको होमस्टेले स्थानीय संस्कृतिको जगेर्ना गर्ने विश्वास


जिल्लाको गोदावरीस्थित पौडोलमा होमस्टे (घरवास) का संचालक महिलाहरूलाई क्षमता विकास तालिम प्रदान गरिएको छ ।

गोदावरी नगरपालिका वडा नम्बर ३ को आयोजनामा पौडोलको तामाङ समुदायमा संचालित गोदावरी सामुदायिक होम स्टे संचालक महिलाहरूको लागि गत वैशाख २९ गतेदेखि जेष्ठ २० गतेसम्म संचालित क्षमता विकास तालिम आईतबार समापन गरिएको हो ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख मुना अधिकारीले घरबास पर्यटनसँग पूर्वाधार, आर्थिक, सामाजिक र साँस्कृतिक विकासका पक्ष जोडिने भएकाले यसको प्रवर्द्धनका लागि नगरको सहयोग रहने बताइन् । घरबास पर्यटनले महिलाहरुको आर्थिक विकास र आत्मसम्मान बढाउन सघाउने उनको भनाइ थियो ।
महिलाहरुलाई होम स्टे तालिम दिएर वडाध्यक्ष सानुराज घिमिरे राम्रो काम गरेको भनि उपमेयर अधिकारीले धन्यवाद ज्ञापन गरिन् । यस ठाउँमा होम स्टेलाइ राम्रोसँग संचालन गर्न सकिएमा तामाङ मौलिकता, रहन सहन, रितिरिवाजलाई जगेर्ना गर्न सकिने उनको भनाई थियो ।

२१ दिने तालिममा पर्यटन आतिथ्यता सत्कार, व्यवस्थापन, पदमार्ग खोज, पर्यटन व्यवसाय र बजारीकरण, पर्यटनमा संस्कृतिको प्रयोग, उद्यमशिलता र हस्तकला सम्बन्धि विभिन्न कामहरू सिक्ने अवसर मिलेको लक्ष्मि लामा र राधिका घिसिङले जानकारी दिएका छन् । तालिमपश्चात आफूहरूमा आत्मविश्वास बढेको उनीहरू बताउँछन् ।

तामाङ संस्कृति र प्राकृतिक सुन्दरतालाई प्रवद्र्धन गर्न तामाङ समुदायमा होमस्टे सुरु गरिएको होमस्टेका अध्यक्ष रूपा तामाङले बताईन् ।

प्रकृति र संस्कृतिले भरिपूर्ण गाउँलाई पर्यटकीय रूपमा उपयोग गर्न सकेमा यस क्षेत्रकै समृद्धिमा महत्ववपूर्ण सफलता हासिल हुने उनी बताउँछिन् ।

होम स्टे संचालनका लागि सहयोग गर्ने वडा अध्यक्ष सानुराज घिमिरेलाई विशेष धन्यवाद व्यक्त गर्दै अध्यक्ष तामाङले आगामी दिनमा पनि होम स्टेको प्रबर्द्धन तथा बजारिकरणका लागि वडाले मात्रै नभएर नगरले पनि बजेट विनियोजन गरि सहयोग गर्ने अपेक्षा राखिन् ।

समाजसेवी रवीन्द्र सिलवालले तामाङ समुदायमा होम स्टेको अवधारणा ल्याएकोमा गोदावरी सरोकारकी अध्यक्ष बेबि राजभण्डारी र वडासदस्य सङ्गिता तामाङलाई धन्यवाद दिए ।
उनले आगामी दिनमा नगरभर नै सम्भाव्यता अध्ययन गरी होम स्टे संचालन गर्नुपर्ने बताए ।

तालिममा सहभागिहरूलाई बेबी राजभण्डारी, शान्ता शाक्य, रिना श्रेष्ठले प्रशिक्षण दिएका थिए । प्रशिक्षक शाक्यले अन्य स्थानमा भन्दा पौडोलको सिकाईमा फरकपन पाएको बताईन् । यहाँको स्थानीय उत्पादनमा हरेक परिकारका साथै, विभिन्न बस्तुहरू निर्माण गर्न सकिने बताईन् । व्यवसायी स्वयंममा सकारात्मक सोच भए क्षमता अभिवृद्धि हुने उनले बताईन् ।
होमस्टे सेवा बिस्तार र थप प्रभावकारी बनाउन स्थानीय सरकार, प्रदेश सरकार, सहयोगी संस्थाहरुसँग समन्वय, सहकार्य गरी तालिम, गोष्ठी जस्ता कार्यक्रम गर्दै जाने उनले जानकारी दिईन् ।

वडाध्यक्ष सानुराज घिमिरेले व्यवसायी महिलालाको क्षमता अभिवृद्धि अभियानमा आफ्नो वडा सधैं तत्परता रहने बताए । होमस्टेले छरिएरका नेपाली समाजको मौलिक संस्कृति, परम्परा, कलाको प्रवर्द्धन, संरक्षण र विकास गर्दै आर्थिक उपार्जन गर्न सकिने उनको भनाइ छ ।

पर्यटकका लागि बहुमूल्य भनेकै स्थानीय संस्कृति, परम्परा, कला, प्राकृतिक सौन्दर्यता भएकोले विदेशी पर्यटकलाई गाउँ घरमा रहेका मौलिक आवास खाना र संस्कार, संस्कृति देखाएर आकर्षण गर्नुपर्नेमा उनको जोड छ । स्थानीय क्षेत्रको आर्थिक विकास, रोजगारको सिर्जना मात्र नभई तामाङ संस्कृतिको प्रवद्र्धनका लागि समेत होमस्टे सेवाले महत्वपूर्ण योगदान दिने उनले बताए ।

तामाङ संस्कृतिको जगेर्नाका लागि होमस्टेले राम्रो भूमिका निर्वाह गर्नुका साथै स्वच्छा हावापानी, स्थानीय उत्पादनको स्वाद लिन देश विदेशका पर्यटकहरु आउनेमा उनले विश्वास व्यक्त गरे । पर्यटकहरूलाई सजिलोका लागि होम स्टेको सूचना बोर्ड राख्ने तयारीको पनि उनले जानकारी दिए ।

कार्यक्रममा आएका पाहुनालाई तामाङ संस्कृतिअनुसार सेतो टीका र खादा, गिलासमा पुदिनाको जुस राखी स्वागत तथा सम्मान गरिएको थियोे भने स्थानीयरुपमा उत्पादन गरिएका रैथाने बालीका परिकारहरू खुवाइएको थियो ।

संङ्गिता सिलवालले संचालन गरेको कार्यक्रममा उपस्थित पाहुनाहरूमा लागि वडासदस्य संङ्गिता तामाङले स्वागत गरेकी थिईन् । कार्यक्रममा वडासदस्य सविना नेपाली, दिपक लामा, वडा कर्मचारी, पत्रकार राजन खरेल, मायालु लामा, गोदावरी सरोकारका सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट