भिभीआइपीहरूलाई नागढुंगादेखि गल्छीसम्म यात्रा गर्न राप्रपा सांसद लामाको आग्रह
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद बिना लामाले नागढुंगादेखि गल्छीसम्मको सडकमा यात्रा गर्न भिभीआइपी र भिआइपीहरूलाई आग्रह गरेकी छन्।
बुधबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै राप्रपा सचेतकसमेत रहेकी लामाले नागढुंगादेखि गल्छी सडकमा जनताले दु:ख पाइएको बताइन्।
‘सम्माननीय र माननीयज्यूहरूलाई मेरो अनुरोध छ, नागढुंगादेखि बिना सुरक्षा र तामझाँमबिनै आफै गाडी चलाएर सीसा खोलेर यात्रा गरिदिनुस्,’ उनले भनिन्, ‘त्यहाँ जनताको समस्या देखिनेछ।’
नागढुंगा-गल्छी सडक स्तरउन्नतीका काम भइरहेकोले पानी परेका बेला हिलो र घाम चर्केका बेला धुलो हुँदा यात्रुले सास्ती खेप्दै आएका छन्।
सांसद लामाले नागढुंगा-गल्छी सडकको विकल्पमा रहेको धार्के-भीमढुंगा-काठमाडौं सडक कालोपत्र गर्न पनि आग्रह गरेकी छन्।
‘यो सडकमा चार सय मिटर कालोपत्र गर्न बाँकी छ, कालोपत्र गरेर साना सवारी त्यो सडकबाट पठाउने गरौं,’ उनले भनिन्।
क्याटेगोरी : समाचार
प्रतिक्रिया