अग्नि सापकोटा जोडिएको अर्जुन लामा प्रकरणको फैसला असार १२ मा
काभ्रेका अर्जुन लामाको हत्याकाण्डमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटामाथि अनुसन्धान हुनुपर्ने माग गरिएको रिटको अन्तिम सुनुवाइ सकिएको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले सुनुवाइ सकेर असार १२ गते निर्णय सुनाउने मिति तोकेको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी रहेको इजलासमा लगातार २ दिन भएको बहसपछि निर्णय सुनाउने दिन तोकेको हो।
२०६९ मंसिरमा अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले आफ्नो पतिको हत्यामा माओवादी नेताहरू अग्नि सापकोटा, सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानमाथि अनुसन्धान हुनुपर्ने माग गरी सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
उक्त रिटमा बारम्बार आदेश भए पनि काभ्रे प्रहरीले अनुसन्धान अघि बढाएको थिएन।
द्वन्द्वकालीन अवस्थामा माओवादीको एक समूहले २०६२ वैशाख १६ गते काभ्रेको दाप्चास्थित श्रीकृष्ण माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको भेलाबाट उठाएर लामालाई बेपत्ता पारेका थिए। लामा स्थानीय व्यापारी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिए।
द्वन्द्वसँग कुनै सम्बन्ध नभएका निहत्था नागरिकलाई नियन्त्रणमा लिएर बेपत्ता पारिएको, डेढ दशकसम्म पनि संक्रमणकालीन न्यायका संयन्त्रबाट मुद्दा नटुंग्याइएको र आरोपितहरू राज्यशक्तिको उच्च ओहोदामा पुगिरहेको भन्दै नियमित फौजदारी न्याय प्रणालीबाटै निरुपण हुनुपर्ने निवेदक पक्षको माग छ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया