पश्चिमा मुलुकलाई पुटिनको चेतावानी
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले पनि अरूलाई पश्चिमा भूमिमा आक्रमण गर्न लामो दूरीका हतियार दिन सक्ने चेतावनी दिएका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बिहीबार अमेरिकी हतियार प्रयोग गरेर रूसी भूमिमा आक्रमण गर्न युक्रेनलाई अनुमति दिएका थिए। पुटिनको सो चेतावनी त्यसको एक हप्ता पनि नबित्दै आएको हो।
सेन्ट पिटर्सबर्ग इन्टरनेसनल इकोनमिक फोरमको अवसर पारेर बुधबार एपी, रोएटर्स, एएफपी लगायत १५ वटा समाचार एजेन्सीहरूसँग कुरा गर्दै पुटिनले सो चेतावनी दिएका हुन्।
नेटो राष्ट्रहरूले रूसी भूमिमा प्रहार गर्न त्यस्ता हतियार युद्ध मैदानमा पठाउन हुन्छ भने ती राष्ट्रका संवेदनशील संरचनामा प्रहार गर्न मिल्ने गरी त्यस्तै खाले हतियार विश्वका केही क्षेत्रमा पठाउने रूसको पनि अधिकार भएको उनले जिकिर गरे।
दोस्रो विश्वयुद्धमा पराजय भोगेपछि सैनिक शक्ति र हतियार जोहो गर्न छोडेर आर्थिक विकासमा ध्यान दिएको जर्मनीको नामै लिएर उनले युक्रेनलाई आफ्ना ट्याङ्क दिनुभन्दा पनि रूसभित्र प्रहार गर्ने गरी मिसाइल दिनु जर्मनी-रूस सम्बन्धका लागि झन् खराब भएको बताए।
युक्रेनसँगको युद्धमा रूसले आणविक हतियार प्रयोग गर्छ कि गर्दैन भन्ने प्रश्नको जबाफमा पश्चिमा मुलुकलाई गर्छ भन्ने नलागे पनि रूसले आणविक हतियार प्रयोग गर्न सक्ने पुटिनले बताएका छन्।
रूसको सुरक्षा सिद्धान्तमा यदि कसैले आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा खतरा हुने काम गरे आफूसँग भएका सबै उपाय अवलम्बन गर्न सक्ने भनेर प्रष्ट लेखिएको औंल्याउँदै उनले त्यो पढ्न सुझाए।
बाइडेनले गत बिहीबारदेखि लागु हुने गरी अमेरिकी हतियार प्रयोग गरेर रूसी भूमिमा आक्रमण गर्न युक्रेनलाई अनुमति दिएका थिए।
युक्रेनले अमेरिकी हतियार प्रयोग गरेर आफ्नो भूमिमा आक्रमण गर्दैन र युक्रेनी हतियारले खासै नोक्सान गर्न सक्दैन भनेर रूस ढुक्क थियो। त्यसैले रूसले युक्रेनको सीमाछेवैमा सेना भेला गरेर खार्किभ सहरमा आक्रमण गर्न थालिसकेको थियो। त्यसपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसभित्र पनि अमेरिकी हतियार प्रयोग गर्न अनुमति मागिरहेका थिए।
अमेरिकाले हतियार दिँदा युक्रेनलाई आफ्नो हतियार रूसी भूमिभित्र आक्रमण नगर्ने सर्त राखेर दिएको थियो। त्यसैअनुसार रूसले कब्जा गरेको आफ्नो भूमिभित्र मात्रै युक्रेनले अमेरिकी हतियारले रूसी सेनामाथि आक्रमण गर्थ्यो।
बाइडेनले युक्रेनलाई सहयोग दिन बजेट छुट्ट्याउनका लागि ल्याएको विधेयक अप्रिलको अन्तिम हप्तातिर पास भयो। विधेयक पास भएपछि हतियार युक्रेनको हातमा आइनपुग्दै युक्रेनको दोस्रो ठूलो सहर खार्किभ कब्जा गर्न रूसले आक्रमण सुरू गर्यो। युक्रेनी रक्षापंक्तिलाई कमजोर पार्न आफ्नो भूमिभित्रबाट खार्किभतर्फ प्रहार गर्न थाल्यो।
आफूसँग भएका केही अमेरिकी हतियार पनि प्रयोग गर्न नपाउने हो भने रूसले खार्किभ कब्जा गर्ने र चाँडै नै युक्रेनले युद्ध नै हार्ने भनेर जेलेन्स्कीले अमेरिकासँग हतियार प्रयोग गर्ने अनुमति मागिरहेका थिए। बेलायतले आफ्ना हतियार रूसी भूमिमा प्रयोग गर्न अनुमति दिए पनि बाइडेन पुटिनले आणविक हतियार प्रयोग गर्न सक्ने भनेर डराइरहेका थिए।
पछिल्ला दिनमा भने नेटो सदस्य राष्ट्रहरूबाट मात्र नभएर अमेरिकाभित्रै र आफ्नै सल्लाहकारबाट पनि अनुमति दिन बाइडेनलाई व्यापक दबाब थियो। तीन हप्ताअघि युक्रेनको भ्रमण गरी स्थलगत जानकारी लिएर फर्किएका विदेशमन्त्री एन्टोनी ब्लिङकेनले मनाएपछि बल्ल बाइडेनले अनुमति दिएको मानिन्छ।
अमेरिकी हतियार प्रयोग गरेर रूसी भूमिमा आक्रमण गर्न बाइडेनले अनुमति दिएपछि युक्रेनले रूसभित्र रहेका एस ३०० र ४०० मिसाइल डिफेन्स सिस्टमहरू ध्वस्त पारेका समाचारहरू प्रकाशित भएका छन्।
त्यस्तै अप्रिलमा थप हतियार दिने विधेयक अमेरिकाले पास गरेपछि रूसले सन् २०१४ मा कब्जा गरेको युक्रेनको भूभाग क्राइमियामा पनि सैन्य संरचनामा युक्रेनले आक्रमण तीव्र बनाएको समाचारहरू आउन थालेका छन्।
अहिले नै क्राइमियामा कब्जा गर्न नसके पनि युक्रेनले अमेरिकी हतियार प्रयोग गरेर मिसाइल डिफेन्स सिस्टम र सैनिक संरचनामा लगातार प्रहार गरेर ध्वस्त पारिरहेको भनेर द इकोनोमिस्टले लेखेको छ। चाँडै नै रूससँग क्राइमियालाई जोड्ने कर्च पुल नष्ट गर्न सक्ने दाबी युक्रेनी र पश्चिमा सैन्य अधिकारीले गर्न थालेका छन्।
सन् २०१४ मा क्राइमिया कब्जा गरेपछि रूसले झन्डै साढे ४ अर्ब डलर खर्चेर द्रुत गतिमा सन् २०१८ मै यो पुल बनाइसकेको थियो। अठार किलोमिटरभन्दा लामो यो पुलमा युक्रेनले पटक पटक हमला गरेर क्षति पुर्याएको छ। तर ज्यादै मजबुत यो पुल पूरै नष्ट गर्न धेरै कठिन छ। रूसले केही दिन वा हप्तामै त्यो पुल मर्मत गरेको छ, गर्न सक्छ।
तर अमेरिका लगायत पश्चिमा राष्ट्रले पछिल्लो समय लामो दुरीका र शक्तिशाली हतियार दिन थालेपछि त्यो पुल नष्ट नै गर्न सक्ने आत्मविश्वास युक्रेनमा पलाएको छ। त्यो पुल ध्वस्त भए रूसले युद्ध धान्न रेल र सडकबाट पठाइरहेको हतियार र बन्दोबस्तीका सामान आउने बाटो बन्द हुनेछ। रूसले युद्ध हार्न सक्छ।
युद्ध नै नहारे पनि पुटिनले व्यक्तिगत रूपमा प्रतिष्ठाको विषय बनाएको क्राइमियामा लगातारको युक्रेनी हमला धानिरहन भने रूसलाई गाह्रो हुनेछ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया