जसपा नेपालको राष्ट्रिय महाधिवेशनको तयारी पूरा

जनता समाजवादी पार्टी (जसपा) नेपालको यही जेठ २८ गतेदेखि जनकपुरमा हुने राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।
महाधिवेशनको विषयमा जानकारी दिन आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनमा देशभरबाट एक हजार तीन सय प्रतिनिधि सहभागी हुने र अधिवेशनको सम्पर्ण तयारी पूरा भएको जानकारी दिए ।
उनले महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, वैचारिक, नीतिगत दस्तावेज तयार भएको र अब तीन दिनसम्म व्यापक बहस तथा छलफलपछि आवश्यक परिमार्जनसहित पारित गरिने बताए । यस्तै महाधिवेशनबाट नयाँ नेतृत्वका लागि जेठ ३० गते चुनावी प्रक्रिया सुरु हुने पनि त्यस अवसरमा जानकारी दिइयो ।
अध्यक्ष यादवले केही सांसदहरू विभिन्न लोभमा पार्टीबाट अलग भए पनि पार्टी एक ढिक्का रहेको धारणा राखेका थिए । महाधिवेशनबाट पार्टी थप सशक्त भएर जनतामाझ जाने उनको भनाइ थियो । “सत्ता, शक्तिको प्रलोभनमा परेर केही साथीहरू पार्टीबाट चोइटिएर जानुभयो, निर्वाचन आयोगले समेत दबाबमा परेर उहाँहरूलाई सहज हुनेगरी पार्टी दर्ता ग¥यो । यो अत्यन्त निन्दनीय र गलत कार्य हो । यसबाट विचलित नभई अब महाधिवेशनपछि थप सशक्त भएर अगाडि बढ्नु छ”, अध्यक्ष यादवले भने । आफू विदेश रहेकै बेला षड्यन्त्रपूर्वक पार्टी फुटाउने काम भए पनि ९९ सय प्रतिशत नेता तथा कार्यकर्ताहरू मूल पार्टीमै रहेको उनको दाबी थियो ।
अध्यक्ष यादवले आगामी दिनमा सङ्घीयता र समावेशिता पक्षधरहरूसँग सहकार्य गरेर अगाडि बढ्न आफूहरू तयार रहेको बताए । अर्को प्रशङ्गमा उनले विभिन्न देशका राजदूत फिर्ता बोलाउने सरकारको काम कूटनीतिक मर्यादाविपरीत भएको आरोप लगाए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया