सहकारी दुरुपयोग छानबीन गर्न बनेको संसदीय समितिले भदौ तेस्रो साता प्रतिवेदन बुझाउने

सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले भदौको तेस्रो साता प्रतिवेदन बुझाउने गरी कार्यविधि बनाएको छ ।
समितिको आज बसेको बैठकले कार्यविधि सर्वसम्मत् रूपमा पारित गरेको हो । आजको बैठकमा छानबिन समितिको कार्यादेश बनाउने सदस्यहरुसँग पनि छलफल गरिएको छ ।
मंगलबारका लागि बोलाइएको आगामी बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, सहकारी विकास बोर्ड पदाधिकारी लगायतलाई छलफलका लागि डाकिएको समिति सदस्य एवं कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । ‘कार्यतालिका पनि पारित गरिएको छ । भदौको तेस्रो हप्तामा समितिले काम सक्ने गरी कार्यतालिका बनेको छ,’ कार्यदल सदस्य पाण्डेले भने ।
कार्यादेश बनाउन संलग्न सदस्यहरूले त्यसको व्याख्या आजको बैठकमा गरेका थिए । अनुसूची १ र २ मा उल्लेख भएका सहकारी र कार्यादेशमा भएको गोर्खा मिडियामा रकम गएका सहकारीमा केन्द्रित भएर समितिले काम गर्नसक्ने कार्यदल सदस्यको व्याख्या गरेको पाण्डेले जानकारी गराए ।
१५ जेठमा बनेको समितिमा नेकपा एमालेका सांसद सूर्य थापा सभापति छन् । नेपाली कांग्रेसबाट सहमहामन्त्री पाण्डे र केन्द्रीय सदस्य एवं सासद ईश्वरी न्यौपाने, एमालेकी सरिता भुसाल, नेकपा माओवादीका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ध्रुवबहादुर प्रधान सदस्य छन् ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया