Techie IT
Samayabaddha
सोमबार, १५ पुस, २०८१

बर्खाभरी सुन्दरीजलको पानीकाे भर, मेलम्ची बन्द


काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्ची खानेपानी पथान्तरण बन्द भएसँगै सुन्दरीजल धापबाट बर्खाभरिका लागि पानी ल्याउने तयारी गरेको जनाएको छ ।

केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार मेलम्चीको पानी बन्द हुने विषयलाई मध्यनजर गर्दै केयुकेएल र काठमाडौंस्थित सुन्दरीजलको धाप ड्यामबिच पानी ल्याउने सम्झौता भएको छ ।

राईका अनुसार पानी बन्द हुने कुरालाई मध्यनजर गरेर केयुकेएल र सुन्दरीजलको धाप ड्यामबिच सम्झौता भएको छ । दैनिक चार करोड लिटर पानी धाप ड्यामबाट लिने सम्झौता भएको हो ।

उनले जमिन मुनिका पानीलाई वैकल्पिक स्रोतका रुपमा लिन सकिने बताए । उनले भने, “स्थिति हेरेर हेरेर ग्राउण्ड वाटरहरुको प्रडक्सन बढाउन सकिन्छ । सरफेस सोर्स वर्खा नभइकन बढ्ने सम्भावना देखिँदैन । सबैलाई अध्ययन गरेर हामीले वितरण तालिका तयार गर्ने क्रमलाई पनि एउटा रणनीतिको रुपमा लिन्छौं ।”  खानेपानी वितरणको तालिका केही दिनभित्रै तयार हुने उनकाे भनाइ छ ।

उनले भने, “पानी पर्ने क्रम बढ्न थालेपछि स्रोतहरु पनि बढ्छ, त्यसपछि अलि सहज स्थिति आउँछ । पहिलाको तुलनामा पानी अभाव त हुन्छ तर, मेलम्ची आउँदा पनि २४ सै घण्टा पानी दिन सक्दैनौं । त्यसो भएन भने अलि दिन ग्याप बढाउनुपर्ने हुन सक्छ ।”

केयुकेएलले सुख्खा याममा दैनिक दशदेखि ११ करोड लिटर र वर्खा याममा १५ देखि १७ करोड लिटर पानी वितरण गर्दै आएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी सन्तोष बरालले मेलम्ची खानेपानी बन्द भएपछि सुन्दरीजल धाप ड्याम उपयुक्त वैकल्पिक स्रोतका रुपमा रहेको बताए।

बरालले भने, “सुन्दरीजलमा जुन बागमतीबाट ल्याएको पानी छ, धापको ड्याम खोलेर गर्ने कि भन्ने विषयमा छलफल भइरहेको छ । जहाँसम्म उपयुक्त विकल्प त्यही नै हुन्छ । बागमतीको पानी डाइभर्ट र प्रशोधन गरेर बाँडिराख्छौं, त्यसरी नै व्यवस्थापन गर्ने कुरा छ ।”

मेलम्ची खानेपानी विकास समितिले असार १० गते सोमबारदेखि मनसुन अवधि नसकिएसम्म पानी पथान्तरणको कार्य बन्द गरिसकेको छ । २०७८ असार १ गते र सोही वर्षको साउन १६ र २७ गते मेलम्ची नदीमा आएको विनाशकारी बाढीबाट मेलम्ची खानेपानी आयोजनाको अम्बाथानस्थित मुहानको ढोका, हेडवक्र्स र पहुँचमार्ग लगायतका संरचनाहरु पूर्णरुपमा क्षति भइ मुख्य प्रणाली बन्द भएको थियो ।

त्यसयता हरेक वर्ष मनसुन समाप्त भएपछि वैकल्पिक प्रणालीका अवयवहरुमा आवश्यक सफाइ तथा मर्मत सम्भार गरी अस्थायी रुपमा काठमाडौं उपत्यकामा पानी पथान्तरण हुँदै आएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट