बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किंदै
काठमाडौं । बेलायतमा लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्कने निश्चित भएको छ । हालै भएको निर्वाचनमा बहुमततर्फ अग्रसर भएपछि लेबरको सत्ता पुनरागमन निश्चित भएको हो ।
लेबर पार्टीको जितसँगै नेता किएर स्टार्मर बेलायतका नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । स्टार्मरले सामाजिक सञ्जालमा मतदातालाई धन्यवाद दिएका छन ।
एक्जिट पोलका अनुसार लेबर पार्टीले ४१० सिट पाउने अनुमान छ । तर कन्जरभेटिभ पार्टीले जम्मा १३१ सिट पाउने देखिएको छ ।
बिहीबार भएको निर्वाचनबाट बेलायती संसद् हाउस अफ कमन्समा प्रतिनिधित्व गर्ने ६५० सांसद निर्वाचित हुनेछन । सरकार बनाउनका लागि ३२६ सिट आवश्यक पर्छ ।
यसअघि सन् २०१० को आम चुनावमा कन्जरभेटिभ पार्टी विजयी भएको थियो भने डेभिड क्यामरुन प्रधानमन्त्री बनेका थिए । मत सर्वेक्षणहरूले २०१० देखि सत्ता सम्हालिरहेको कन्जरभेटिभ दलले नराम्रो पराजय भोग्ने देखाएका थिए ।
१४ वर्षपछि पार्टीलाई सत्तामा पु¥याउन सफल बनेका ६१ वर्षीय स्टार्मर सन् २०२० को अप्रिलमा लेबरका नेता चुनिएका थिए । त्यसअघि जेरेमी कोर्बिनले नेतृत्व लिएका थिए । नेता चयन हुँदा स्टार्मरले भनेका थिए, ‘यस महान पार्टीलाई नयाँ आशा र विश्वासका साथ नयाँ युगतर्फ अघि बढाउनेछु ।’
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया