Techie IT
Samayabaddha
बिहीबार, १८ पुस, २०८१

कोशी ब्यारेजका सबै ढोका खोलिए, सतर्क रहन आग्रह


सुनसरी । पूर्वी पहाडी भेगमा निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी स्थानीय प्रशासनले कोसी ब्यारेजमा सबै ५६ वटा ढोका खोलेको छ ।

प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार ब्यारेजमा प्रतिघण्टा तीन लाख ६८ हजार क्युसेकभन्दा बढी पानी प्रवाह भएपछि सबै ढोका खोलिएका हुन् । नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको संकेत दिन रातो बत्ती बालिएको छ भने राता झण्डा फहराइएका छन् ।

सप्तकोसी जलमापन केन्द्रले जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गरेका छन् । सप्तकोशी जलमापन केन्द्रमा जलसतह खतराको संकेत पार गरेका कारण नदी आसपासका बासिन्दालाई शतर्क रहन प्रशासनले आग्रह गरेको छ ।

पानी पर्ने क्रम जारी रहेकाले नदीमा पानीको बहाव बढ्ने क्रममा रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । नदी आसपासका उदयपुर, सुनसरी र सप्तरी जिल्लाका बासिन्दालाई सुरक्षित रहन भनिएको छ । केही दिन यता देशभर भारी वर्षा भइरहेको छ । काठमाडौं उपत्यकासहित देशभर अत्याधिक वर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट