नोवेल पुरस्कार विजेता मोहम्मद युनुस बङ्गलादेशको अन्तरिम सरकार प्रमुखमा नियुक्त
काठमाडौं । नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई बङ्गलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाकारमा नियुक्त गरिएको छ । राष्ट्रपतिका सञ्चार सचिवले नोबेल पुरस्कार विजेता अर्थशास्त्री युनुसलाई बङ्गलादेशको अन्तरिम सरकारको प्रमुख बनाएको जानकारी दिएको बीबीसीले जनाएको छ ।
बंगलादेशमा विद्यार्थीहरुले गरेको एक महिनादेखिको विरोध प्रदर्शन बढ्दै गएर हिंसात्मक रुप लिएपछि करिब १६ वर्षदेखि एकछत्र सत्ता चलाएकी प्रधानमन्त्री शेख हसिनाले सोमबार राजीनामा दिएर बंगलादेशी वायुसेनाको विमान चढेर भारततिर आश्रय लिन पुगिन् ।
भारतमा पनि सुरक्षित महसुस नगरेर उनी बेलायततिर जाँदैछन् भन्ने चर्चा यतिबेला चलिरहेको छ ।
७६ वर्षीया हसिनाले राजीनामा दिएपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरू रोकिएका छन् । हसिनाले देश छाडेपछि सेना प्रमुख वाकर उज जमानले देशवासीको नाममा सम्बोधन गर्दै अन्तरिम सरकार गठन गर्ने बताएका थिए ।
आन्दोलनरत विद्यार्थीहरुले सेनाले अन्तरिम सरकार गठन गरे आफूहरुलाई मान्य नहुने र आन्दोलन जारी राख्ने बताएपछि विद्यार्थीहरुको आग्रहलाई स्वीकार गर्दै युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति गरिएको छ ।
सरकार गठनका लागि हसिनाको अवामी लिग पार्टीबाहेक राष्ट्रपति, सेना, अन्य राजनीतिक पार्टी र आन्दोलनरत विद्यार्थीको नेतृत्वहरुबीच राष्ट्रपति भवनमा छलफल भएको थियो ।
मोहम्मद युनुसले यो कठिन समयमा आफूलाई नेतृत्व गर्न विद्यार्थीले गरेको आग्रहलाई अस्वीकार गर्न नसक्ने भन्दै हिजो नेतृत्वमा आउन सहमति जनाइसक्नुभएको थियो । युनुस अहिले उपचारका लागि फ्रान्समा हुनुहुन्छ । सरकार प्रमुखमा चुनिएपछि उहाँ अब स्वदेश फर्किने तयारीमा रहेको खबरमा उल्लेख छ । अहिले अन्तरिम सरकारको प्रमुखमा नियुक्त युनुस बङ्गलादेशका सामाजिक उद्यमी, बैंकर, अर्थशास्त्री र सामाजिक नेता हुनुहुन्छ ।
युनुसले गरिबी उन्मूलनका लागि गरेको विशेष प्रयासका लागि सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाउनुभएको थियो । युनुसले सन् १९८३ मा गरिबहरूलाई स–साना ऋण उपलब्ध गराउने ग्रामीण बैंक स्थापना गर्नुभएको थियो । यसले ठूलो संख्यामा मानिसहरूको जीवनस्तर उकास्न सफल भएको मानिएको छ ।
युनुस पूर्वप्रधानमन्त्री शेख हसिनाको कट्टर विरोधी मानिनुहुन्छ । कुनै बेला युनुसले पार्टी खोल्ने तयारी समेत गर्नुभएको थियो । गएको जनवरीमा युनुसलाई श्रम कानुन उल्लङ्घन गरेको आरोपमा ६ महिना जेल सजाय समेत सुनाइएको थियो । यो राजनीतिक प्रतिशोधपूर्ण निर्णय भएको शेखहसिनाका पार्टीका नेताहरुले समेत बताउने गरेका थिए ।
राष्ट्रपति मुहम्मद शहाबुद्दिनले सोमबारै हसिनाकी प्रमुख प्रतिद्वन्द्वी ७८ वर्षीया बेगम खालिदा जियालाई रिहा गर्न आदेश दिएका छन् । जियालाई हसिनाले नै पहिले जेलमा र पछि नजरबन्दमा राखेकी थिइन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति
प्रतिक्रिया