शेयरबजार बुलिस लयमा, राम्रा कम्पनीमा लगानी गर्ने अवसर

सरकारको नेतृत्व परिवर्तनसँगै शेयरबजारमैत्री मानिएका विष्णु पौडेलनै अर्थमन्त्री नियुक्त भएपछि शेयरबजार बढ्न थालेको हो । पछिल्लो समय राष्ट्रबैंकले ल्याएको मौद्रिक नीतिबाट पूँजीबजारमैत्री नीति लिएसँगै बजारले बुलिस यात्रा तय गरेको छ । मौद्रिक नीति मार्फत राष्ट्रबैंकले संस्थागत लगानीकर्ताका लागि २० करोडको क्याप हटाएको छ । यी र यस्तै कारणले गर्दा लगानीकर्ताको मनोबल उच्च रहँदा बजार अझै बढ्ने संभावना देखिन्छ ।
यसअघिको वियर बजारमा केही सीमित कम्पनी बाहेक अधिकांश कम्पनीको शेयरमूल्य अन्डरभ्याल्युड रहेको थिए । वित्तीय अवस्था राम्रा भएका कम्पनीमा लगानी गर्ने अवसर अझै बाँकी रहेको रहेको र लगानीकर्ताको उच्च मनोवल देखिएकाले अझै शेयरबजार बढ्नेमा दुईमत छैन ।
बाणिज्य बैंक, इन्स्योरेन्स, हाइड्रोपावर, माइक्रोफाइनान्स सेक्टरका कतिपय शेयर अझै अण्डरभ्यालुड रहेका छन् । भर्खरै मात्र आइपीओ निस्कासन भएका, नेटवर्थ, ईपीएस कम भएका लो क्याप कम्पनीहरुको मूल्य अत्याधिक बढ्दा अझै अघिल्लो बुलमा लिड गरेका, नेटवर्थ र ईपीएस उच्च भएका कम्पनीहरुको अझै मूल्य बढिसकेको छैन । लगानीकर्ताहरुले सेक्टर घुमाएर विस्तारै हाइक्याप र फण्डामेन्टल्ली स्ट्रङ्ग कम्पनीहरुमा समेत लगानी बढाउँदै गएको कारोबारबाट देखिन्छ ।
वित्तीय अवस्था राम्रा भएका कम्पनीमा लगानी गर्ने अवसर अझै बाँकी रहेको छ । सातामा १ खर्व बढीको कारोबार भएर कारोबार रकमले समेत शेयरबजार परिसूचक ‘नेप्से’लाई सपोर्ट गरेको छ । बजारमा नयाँ ब्रोकरहरुको संख्या थपिएकाले पनि कारोबार रकम धेरै हुन सहयोग पुगेको देखिन्छ । नयाँ लगानीकर्ताहरु थपिएका छन् । पुराना लगानीकर्ताको पनि आत्मबल थप बढेको देखिन्छ । बैंकहरुबाट शेयर धितो कर्जा लिएर लगानी गर्नेहरु पनि बढेको ब्रोकरहरुको भनाई छ । यी सबै सकारात्मक कारण एकसाथ देखिंदा बजारले गति लिन सकेको हो ।
शेयरबजार र ब्याजदर एक अर्कामा परिपुरक हुन्छन् । ब्याजदर घट्दा लगानीकर्ताहरु सस्तो ब्याजमा बैंकमा राख्नभन्दा शेयर किन्दा फाईदा हुने सोचेर शेयरतर्फ आकर्षित हुन्छन् । अहिले बैंकहरुले ब्याजदर हरेक महिना घटाउँदै आएका छन् । बैंकमा तरलता थुप्रिएर बैंकहरुले सिंगल डिजिटमै ऋण दिंदै आएका छन् । यसअघि ब्याजदर घटेको महिनौंसम्म पनि शेयर बजार वृद्धि हुन सकेको थिएन । प्रणालीमा तरलता थुप्रिएको थुप्रियै थियो । तर पनि नेप्से अघि बढ्नै सकेको थिएन । आम लगानीकर्ताको मनोबल उच्च हुनै सकेको थिएन । जब नयाँ सरकार गठन भयो अनि सरकारले पुँजी बजार सुधारप्रति प्रतिबद्धता जनायो त्यसपछि मात्र लगानीकर्तामा उच्च मनोबल देखिएको हो ।
गभर्नरदेखि अर्थमन्त्री र प्रधानमन्त्रीसम्मले शेयर बजार विकास र सुधारमा प्रतिबद्धता जनाएका छन् । नीतिगतरुपमा व्यवस्थाहरु खुकुलो गरिएको छ । मौद्रिक नीतिले कर्जा लगानी थप विस्तार गर्ने नीति लिएको छ । संस्थागत लगानीकर्तालाई सेयर धितो कर्जामा लगाइएको क्याप खुला गरिएको छ ।
बैंकहरुले साउनमा पाकेको ब्याजसमेत जोडेर गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्न पाउने भएका छन् । यी सबै प्रावधानहरुले गर्दा शेयर बजारका लगानीकर्ताको मनोबल उच्च देखिएको हो ।
तर, बजार सधैं एकोहोरो ढंगलेमात्र अघि बढ्दैन । बेलाबेलामा साना–ठूला करेक्सनहरु आइरहन्छन् । शेयरबजार बढ्नु–घट्नुलाई बजारको सुन्दर पक्षको रुपमा लिइन्छ । यो कुरालाई समेत आम लगानीकर्ताले ख्याल गर्नुपर्ने हुन्छ । आफ्ना रणनीतिहरु अगाडि नै तय गरेर अघि बढ्न जानकारहरुले सुझाव दिने गरेका छन् ।
बुल बजारमा सबै किसिमका कम्पनीहरु बढ्ने भए पनि लगानीकर्ता भने सधैं सचेत रहनुपर्छ । सकेसम्म सबल वित्तीय सूचक भएका, लाभांश क्षमता उच्च रहेका कम्पनीहरु छानेर लगानी गर्न विश्लेषकहरुले सुझाव दिने गरेका छन् । लगानीसम्बन्धी योजना र रणनीति तय गर्न सके झन् राम्रो हुन सक्छ ।
बजारमा अरुले कमाएको देखेर लहैलहैमा लागेर, अरुले यो वा त्यो कम्पनीमा लगानी गर भनेको भरमा महंगो मूल्यमा पुगिसकेका कम्पनीमा लगानी गर्दा भने कर्नरिङ्ग गरिएको शेयरमा फस्न सकिने भएकोले सचेत रहन आवश्यक छ । आफूले खरिद गर्न चाहेको कम्पनीको विगतको लाभांस इतिहास, अहिलेको क्षमता, कम्पनीको आधारभूत पक्ष विश्लेषण गरेर खरिद गर्दा फसिने संभावना हुँदैन ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया