पर्यटनमन्त्री पाण्डे हेलिकोप्टर दुर्घटना स्थलमा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डेले हेलिकप्टर दुर्घटना स्थलको निरीक्षण गरेका छन् । आज विहान नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्यचौर पुगेर मन्त्री पाण्डेले दुर्घटना स्थलको स्थलगत निरीक्षण गरेका हुन् ।
बुधबार नुवाकोटको शिवपुरी गाउँपालिका९७ सूर्यचौरमा एयर डाइनेष्टिको ९ एन एजेडी कलसाइनको हेलिकप्टर दुर्घटना भएको थियो । सो दुर्घटनामा पाइलट अरुण मल्लसहित चारजना चिनियाँ नागरिकको मृत्यु भएको थियो ।
निरीक्षणका क्रममा दुर्घटना स्थलमा पुगेका मन्त्री पाण्डेसँग मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि र नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सहभागी थिए ।
मन्त्री पाण्डेले १५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण रहेको बताए । उनले हवाई सुरक्षालाई उच्चतम प्राथिमकतामा राखेर आजैदेखि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरिने पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।
हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्युु
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसीका लागि बुधवार दिउँसो उडेको उक्त हेलिकप्टरमा नेपाली चालक अरुण मल्ल र चार चिनियाँ नागरिक थिए ।
हेलिकोप्टर हिजो दिउँसो १ः५४ मिनेटमा काठमाडौंबाट उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको थियो ।
प्राधिकरणका अनुसार पाँचै जनाको शव घटनास्थलमा फेला परेका थिए । मृतकमध्ये एक महिला छिन् ।
सबै शव पोस्टमोर्टमका लागि काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ल्याइसकिएको प्राधिकरणले जनाएको छ ।
दुर्घटनाको कारण खुलिसकेको छैन । तर नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार खराब मौसमका कारण दुर्घटना भएको हुन सक्छ ।
नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँले नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका ७ मा पर्ने सूर्यचौर जङ्गलमा हेलिकप्टरजस्तो वस्तु जलेर धुवाँ आइरहेको जानकारी आएपछि सुरक्षाकर्मीहरू त्यता गएको बताएका थिए ।
बुधवारै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त दुर्घटनाको छानबिन गर्न नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा एउटा आयोग बनाएको छ । आयोगलाई ३० दिनको समय दिइएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया