Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि, के के छन एजेण्डा ?


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक साउन २५ गते शुक्रबारबाट बस्दैछ ।

समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल गर्न आज अपराह्न ४ः०० बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा उक्त बैठक बस्न लागेको हो ।

स्थायी समिति बैठकको एजेन्डा तय गर्न माओवादी केन्द्रको पदाधिकारी वैठक आजै विहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा बसेको थियो ।

स्थायी समितिको बैठकमा यसअघि पार्टीको भूमिकाको समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा छलफल हुने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बैठकमा जनपरिचालन, सङ्गठन निर्माण र विस्तारका बारेमा पनि छलफल हुने उनले बताए ।

सरकारबाट बाहिरिएसँगै माओवादी केन्द्रको ध्यान संगठन सुदृढीकरणमा गएको देखिएको छ । शान्तिप्रक्रियामा आएबाट माओवादी केन्द्र कहिले आफ्नै प्रमुख नेतृत्वमा त कहिले अरुको नेतृत्वमा लगभग सत्ताको केन्द्रमा छ । तर माओवादी पार्टी पनि अरु पार्टीभन्दा भिन्न हुन नसकेको र सत्तामा रहेर पनि जनताको पक्षमा काम गर्न नसकेको भन्दै जनमत घटिरहेको छ ।

अब बस्ने स्थायी समिति बैठकमा माओवादीले संघीय र प्रदेश सरकारमा रहेका बेला गरेका कामबारे जनतालाई जानकारी गराउने समेत तयारी गरेको भनिएको छ ।

गत वर्ष माओवादीले जनतासँगको सम्बन्धलाई सुदुढ गर्ने भन्दै ‘जनतासँग माओवादी चार महिने विशेष रूपान्तरण अभियान’ चलाएको थियो । जनतामा यस अभियानले केही सकारात्मक सन्देश पनि दिएको थियो । नेताहरुले जनता सामू आफैबाट रुपान्तरण गर्ने प्रतिवद्धता जनाएका थिए । मुहान सफा नगरी तल पानीको शुद्धता खोज्नु आफैमा वेठिक थियो । पार्टी तल होइन माथिबाट नै समस्यामा छ भन्नेमा नेतृत्वको सामू कुनै दुईमत छैन । तर पनि बेला बेलामा चलाउने अभियानले कार्यकर्तामा शुद्धता खोज्ने गरेको देखिन्छ । समस्या जहाँ छ त्यहीबाट समाधान खोजियो भने मात्र माओवादी पुर्नजागृत हुनसक्छ भन्ने राजनीतिक विश्लेषकहरुको भनाई छ ।

यस अघि बसेको पदाधिकारी वैठकमा ०८४ को निर्वाचनमा एक्लै प्रतिष्पर्धामा जानुपर्ने अधिकांश पदाधिकारीले मत राखेका थिए । स्थायी कमिटीमा पनि पदाधिकारी बैठकमा उठेका कुराहरूलाई नै एजेण्डा बनाएर जाने माओवादीले निर्णय गरेको छ ।

 

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट