Techie IT
Samayabaddha
आईतबार, २१ पुस, २०८१

बंगलादेशका खिलराजहरू


राजनीतिक पार्टीहरू असफल भएपछि एउटा स्वतन्त्र राजनीतिक समूहलाई सरकार बनाउन दिइएको र त्यसले चुनाव गराउनु पर्ने अवस्था एक समय नेपालमा आएको थियो । मार्च १४, २०१३ देखि फरबरी ११, २०१४ सम्म खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । त्यही सरकारले नेपालमा जुन २१, २०१३ मा संविधानसभाको निर्वाचन गरायो त्यो सरकारलाई पार्टीहरूको सहयोग थियो । राजनीतिक पार्टीहरूको असक्षमताले गर्दा त्यस्तो समय आउने रहेछ । अहिले बंगालादेशमा नेपालमा खिलराजको जस्तै मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ र त्यसलाई सेनाले समर्थन गरेको छ । सन १९७१ मा बंगलादेश बनेपछि बंगलादेशमा शासन गर्ने पार्टी र निकायहरूमा अवामी लिगले २४ वर्ष (१९७१-१९७५, १९९६-२००१, २००९-२०२४), बंगलादेश नेस्नलिस्ट पार्टीले १३ वर्ष (१९७९-१९८२, १९९१-१९९६, २००१-२००६), सेनाले ११ वर्ष (१९७७-१९८१, १९८३-१९९०) शासन गरेका छन् । त्योदेखि बाहेक छोटो अवधि नेस्नल अवामी पार्टी (भसानी) र जातिय पार्टी (इर्साद) ले शासन गरेको इतिहास छ । मुजीबुर रहमानले १९७५ मा बंगलादेशको संविधानलाई धर्म निरपेक्ष र समाजवादी बनाएका थिए तर जियाउर रहमानले १९७८ मा बंगलादेशलाई संविधानत इस्लामिक राष्ट्रमा परिणत गरे । यी दुबैको बंगलादेशमा हत्या मृत्यु भयो । मुजीब १९७५ र जियाउर रहमान १९८१ मा मारिए । बंगलादेशको राजनीतिक इतिहासको सत्ता पार्टी साझेदारी समय अवधि धर्म निरपेक्ष र इस्लामिक पार्टीहरूको फिप्टी-फिप्टी रहेको देखिन्छ ।
बंगलादेश अन्तरिम सरकारका मुखिया मोहम्मद युनुस १९६५ मा फुलब्राइट छात्रवृति पाएर अमेरिकाको भ्याडरबिट विश्वविद्यालयमा अध्ययन गर्न गएका थिए । पढाइ सकेर युनुसले अमेरिकाको टेनेसीमा केही वर्ष अर्थशास्त्र पढाएका थिए । बंगलादेश स्वतन्त्र भएपछि युनुस अमेरिकाबाट बंगलादेश फर्केर पूर्व बंगाल स्थित चिटगाउँ विश्वविद्यालयमा अर्थशास्त्र पढाउन थाले । नवउदारवादका हिमायती युनुस शेख हसिनाको आँखाका कंसिगर किन बने ? यसका केही कारण थिए, माइक्रो फाइनान्सका अगुवा युनुस सेनाको सहयोगमा आफूलाई फाल्ने योजनामा पहिलेदेखि रहेको हसिनाको बुझाइ थियो ।
सन २००६ मा शान्ति नोबेल पुरस्कार पाउने युनुस अमेरिका विशेषगरी युनुसका साथी बिल क्लिण्टनको जोडबलमा पुरस्कार पाएको भनाइ थियो । पूर्वी बंगलादेश आदिबासी विद्रोह साम्य पारेकामा हसिना त्यो पुरस्कारका लागि आफूलाई हकदार ठान्थिन् । युनुस अमेरिकालाई शान्तिदूत मान्छन् तर हसिना अमेरिकालाई युद्ध पिपासु ठान्छिन् । हसिनाको २००८ को प्रचण्ड बहुमतको विजयपछि हसिनाले युनुसलाई २०११ मा ग्रामीण बैंकबाट पाखा लाइन । अमेरिकी विदेशमन्त्री हिलारी क्लिण्टनले फोनमा हसिनालाई युनुसलाई ग्रामीण बैंकबाट किन निकालेको भनेर गुनासो गरेकी थिइन ।
हसिनाले उनले होइन अदालतको आदेशबाट ऊनी निकालिएका हुन् भनेर जवाफ फर्काएकी थिइन । १९८३ मा स्थापना भएको ग्रामीण बैंक २००८ मा ७.६ अर्ब अमेरिकी डलर एक लाख गाउँमा ऋण संचालन गरेको थियो । ग्रामीण बैंकको बंगलादेशमा ठूलो नेटवर्क सञ्जाल छ । त्यहाँ ८५ लाख ग्रामीण बैंकका सदस्य मात्र थिएनन् ती मतदाता पनि थिए । युनुसले २००६ मा नोबेल शान्ति पुरस्कार, २००९ मा अमेरिकाको प्रेसिडेन्सियल मेडल अफ फ्रिडम, २०१० मा कंग्रेसनल गोल्ड मेडल पाएका थिए । अमेरिकाबाट यस्ता पुरस्कार पाउने अहिलेसम्म विश्वका ६ जनामात्र छन्ः मार्टिन लुथर किंग जुनियर, एली विसेल, मदर टेरेसा, नेल्सन मन्डेला, नोरम्यान बोर्लाङ र आन साङ सुकी ।
अगस्त ८, २०२४ मा ८४ वर्षिय मोहम्मद युनुसको नेतृत्वमा १७ भाइको बंगलादेशको सल्लाहकार सरकार बनेको छ । सरकारमा बुद्धिजीवी, नागरिक समाज, एनजीओ, पूर्व सेना, मोलबी, विद्यार्थीको संयुक्त सरकार छ । युनुसपछि अर्थमन्त्री सलाउद्दीन अहमद जसले म्याकमास्टर विश्वविद्यालय क्यानाडाबाट १९७८ मा विद्यावारिधि गरेका छन् केन्द्रीय बंगलादेश बैंकको गभर्नर भएर २००५-२००९ को अनुभव पनि रहेको छ । सखावत हुसेन ७६ वर्षको उमेरमा सरकारमा सामेल सेनाका पूर्व ब्रिगेडियर जनरल हुन् उनले २००७-२०१२ चुनाव आयुक्तको रूपमा काम गरेका थिए, गृह मन्त्रालय सम्हालेका छन् । आसिफ नजरुल १९९९ मा बेलायतबाट विद्यावारिधि र जर्मनी बोन विश्वविद्यालयबाट पोस्ट डक्टरेट गरेका ढाका विश्वविद्यालय कानुनका प्राध्यापक हुन् । उनलाई कानुनमन्त्री बनाइएको छ । मानव अधिकारवादी अदिलुर रहमान खानलाई उद्योग मन्त्रालय जिम्मा दिइएको छ । बंगलादेशका पूर्व महान्याधीवक्ता ८३ वर्षिय ए.एफ. हसन आरिफलाई ग्रामीण तथा सहकारी मन्त्री बनाइएको छ । पूर्व विदेश सचिव मोहम्मद ताहिद हुसेन विदेशमन्त्री बनेका छन् । पर्यावरणवादी सयदा रिजवाना हसन पर्यावरणमन्त्री बनेकी छन् । फरिदा अख्तरले माछा तथा पशुपालन मन्त्रालयको जिम्मा पाएकी छन् । मानव अधिकारवादी सरमीन मुर्सिदले समाज कल्याण मन्त्रालय पाएकी छन् । ६५ वर्षिय ए.एफ.एम. खालिद हुसेन इस्लामिक बुद्धिजीवीलाई धर्म मन्त्रालय दिइएको छ । युनुससँगै काम गरेकी नुरजहाँ बेगमले स्वास्थ्य मन्त्रालय पाएकी छन् । वर्तमान बंगलादेश आन्दोलनका अगुवा ढाका विश्वविद्यालय समाजशास्त्रका विद्यार्थी २६ वर्षिय नाहिद इस्लामले सञ्चार मन्त्रालय पाएका छन् । अर्का युवा आन्दोलनकारी ढाका विश्वविद्यालय भाषशास्त्रका २६ वर्षिय विद्यार्थी आसिफ महमुदलाई युवा तथा खेलकुद मन्त्रालय दिइएको छ ।
जमात-ए-इस्लामी सरकारमा सामेल भएकोमा भारत र अमेरिका दुबैको चित्त बुझेको छैन । बंगलादेशको आन्दोलनमा अमेरिकी संलग्नताको चर्चा चलेको छ । अमेरिकी ह्वाइट हाउस प्रवक्ता करिन जिन-पाइरे का अनुसार बंगलादेशको आन्दोलनमा अमेरिकाको कुनै संलग्नता छैन भनेका छन् तर अगस्त १२ भारतको इकोनोमिक टाइम्सका अनुसार शेख हसिनाले आफ्ना अन्तरंगहरूसँग अमेरिकालाई सेन्ट मार्टिन टापुमा सैनिक अखाडा राख्न नदिएकाले प्रतिशोध गरेको आरोप लाएकी छन् । बंगलादेशमा बंगलादेश नेस्नलिस्ट पार्टीले अवामी लिगलाई आक्रमण गरिरहेको छ, जमात-ए-इस्लामीले बंगलादेशमा रहेका १ करोड ३१ लाख हिन्दु, १० लाख बुद्धिस्ट र ४ लाख क्रिश्चियनलाई आक्रमण गरिरहेको छ ।
५४० मानिसको मृत्यु भएको छ । ४० प्रतिशत बंगालीहरू वेरोजगार छन् । बंगलादेशको राजनीति अहिले उबडखाबड बाटोमा छ संविधान अनुसार युनुसले ९० दिनभित्र चुनाव गराएर निर्वाचित प्रतिनिधिलाई सत्ता सुम्पनु पर्ने प्रावधान छ तर बंगलादेशको भविष्य अनिश्चित छ र बंगलादेशमा जनता भनिरहेका छन्ः कातो जर्नेल आइलो जाइलो, अमागो कि होइबो ? एइगो जा, पारे-ओ ताइ (कति जर्नेल आएगए तर हाम्रो भविष्य ? वर्तमान विगत जस्तै त छ) । हो हजुर, बंगलादेश अहिले यस्तै छ !

क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट