Techie IT
Samayabaddha
आईतबार, २१ पुस, २०८१

मुस्ताङमा हिमपहिरोले थुनिएको खोला बग्न थाल्यो


काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २– कोबाङमा हिमपहिरोले थुनिएको बोक्सी खोला बग्न थालेको छ । हिमपहिरो आएर थुनिएको बोक्सी खोला बग्न थालेको सशस्त्र प्रहरीले जनाएको छ ।

आज दिउँसो साढे १ बजेतिर धौलागिरि हिमालको फेदबाट हिमपहिरो खसेर खोँचमा थुप्रिँदा बोक्सी खोला थुनिएको थियो । बोक्सी खोला कालीगण्डकी नदीको सहायक खोला हो ।

हिमपहिरोले खोला थुनिँदा जम्मा भएको पानी बिस्तारै बग्न थाले पनि जोखिम रहेकाले कालीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । हिमपहिरोका कारण जोखिममा रहेका केही घरपरिवारलाई यसअघि दिउँसो नै सुरक्षित ठाउँमा सारिएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले हिमपहिरो थुप्रिएको ठाउँमा सशस्त्र प्रहरीको टोली पठाइएको बताए । यस्तै जल तथा मौसम विभागले पनि अर्को सूचना नआएसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट