Techie IT
Samayabaddha
शुक्रबार, १२ पुस, २०८१

बङ्गलादेशमा लगातारको वर्षा र बाढीका कारण २० जनाको मृत्यु


बङ्गलादेशमा अविरल मनसुनी वर्षा र नदीमा आएको बाढीका कारण २० जनाको मृत्यु भएको छ । ५० लाखभन्दा धेरै मानिस प्रभावित भएका छन् ।

विशेष गरी दुर्गम क्षेत्रहरूमा बाढीका कारण धेरैलाई खाना, सफा पानी, औषधि र लुगाको तत्काल आवश्यकता परेको तर सडक अवरुद्ध भएकाले उद्धार र राहतमा समस्या भइरहेको बङ्गलादेशको स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

गएराति मध्यरातमा आएको बाढीले राजधानी ढाकाका ग्रामीण क्षेत्रसहित ११ जिल्ला प्रभावित भएका छन् । बङ्गलादेशका केही मानिसहरूले छिमेकी भारतमा बाँधका ढोकाहरू खोल्दा बाढी आएको आरोप लगाएका छन् । तर नयाँ दिल्लीले भने बङ्गलादेशको दाबी अस्वीकार गरेको छ ।

बङ्गलादेशको मौसम विभागले पानीको सतह नघटेकाले वर्षा नरोकिएमा बाढीको जोखिम कायमै रहेने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई सचेत रहेर सुरक्षित ठाउँमा बस्न आग्रह गरेको छ ।

विश्व बैंक इन्स्टिच्युटले सन् २०१५ मा गरेको एक विश्लेषणले विश्वको सबैभन्दा जलवायु जोखिममा रहेका देशहरू मध्येको एक बङ्गलादेशमा ३५ लाखभन्दा धेरै मानिस वार्षिक रुपमा बाढीको जोखिममा रहेको अनुमान गरेको थियो । वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण विनाशकारी प्राकृतिक प्रकोपका घटना बढेको बताएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट