Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

आईसीसीको अध्यक्षमा भारतका जय शाह निर्विरोध


अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आईसीसी) को नयाँ अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव रहेका जय शाह आईसीसीको अध्यक्षमा निर्विरोध भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिलेका अध्यक्ष ग्रेग बार्कलेको भूमिका अब आउँदो डिसेम्बर १ देखि जय शाहले लिनेछन् । सन् २०२० देखि दुई कार्यकालका लागि आईसीसीको अध्यक्ष रहेका बार्कलेले तेस्रो कार्यकालका लागि उम्मेदवारी नदिने पुष्टि गरेपछि बोर्ड अफ डाइरेक्टरले अगस्ट २७ अर्थात् हिजोसम्म उम्मेदवारी दर्ता गर्न आव्हन गरेको थियो । तर, जय शाहको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका हुन् ।

शाहले क्रिकेटलाई पहिलेभन्दा धेरै समावेशी र लोकप्रिय बताउने जनाएका छन् । सन् २०२८ को ओलम्पिकमा क्रिकेट पनि समावेश हुने विषयलाई सफलतापूर्वक कार्यान्वयन गर्ने र आफ्नो कार्यकालमा आईसीसीले क्रिकेटलाई अभूतपूर्व तरिकाले अगाडि बढाउने शाहको प्रतिबद्धता छ ।

शाह जगमोहन डालमिया, शरद पवार, एन श्रीनिवासन र शशांक मनोहरपछि आईसीसीको नेतृत्व गर्ने पाँचौँ भारतीय नागरिक हुन् । सन् २००९ मा गुजरात राज्यमा क्रिकेट प्रशासनको करियर शुरु गरेका शाह सन् २०१९ देखि बीसीसीआईका सचिव छन् । शाह सन् २०२१ देखि २०२४ सम्म एसियाली क्रिकेट परिषद् एसीसीको अध्यक्ष पनि थिए ।

 


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


ताजा अपडेट