तिजको दर खाने दिन आज

काठमाडौं । नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तिजपर्व आजदेखि शुरु हुँदैछ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तिजको पहिलो दिनआज दर खाने गर्छन्।
माइतीमा गएर चेलीबेटीले दरखाने परम्परा छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । खीर, ढकनी, चाम्रे, सेलरोटी, फिनीरोटी, चुकौनी लगायतका परिकार बनाएर दर खाने गरिन्छ ।
तिजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज बर्तालुहरूले शक्ति प्राप्तिका लागि मीठा एवं आडिलो परिकार दरका रूपमा खाइ भोलिपल्टको व्रतका लागि पूर्व तयारी गर्छन् ।
विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।
महिलाहरूले वर्षदिनभर आफूलाई परेका दुःख, पिर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत तिजलाई उपयोग गर्ने गरेका छन् । तिजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । जन्म घरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पिर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।
शहरबजारमा भने एकमहिना अगाडीबाटै तडक भडकका साथ दर खाईरहेको देखिन्छ । तिज नलाग्दै पार्टी प्यालेसहरुमा ठूलो साउण्ड सिस्टमबाट गित गाएर मदिराको तालमा नाचेको भिडियो सामाजिक संजालमा राखेको पाईन्छ । यस्ता गतिवविध बढ्दा तिजको मौलिकता गुम्ने र सांस्कृतिक पहिचान गुमाउने हो कि भन्ने डर पनि छ । जे होस् आज दर खाने दिन हो, शुरु भयो अव तिज ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया