Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

आज हरितालिका तीज, पशुपतिलगायतका शिव मन्दिरहरूमा बिहानैदेखि भीड


काठमाडौं । आज हरितालिका तीज पर्व मनाइँदैछ । भदौ शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरू भएको पौराणिक मान्यता छ । आज तीजको व्रत बस्नुपर्ने भएकाले व्रतालुहरूले हिजो दर खाएका छन् । विशेषगरी माइती एवम् दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्छन् । हिजो दर खाएपछि औपचारिक रूपमा शुरू हुने तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

तीजलाई नेपाली नारीले मौलिक पर्वका रूपमा मनाउने गरेका छन् । हरितालिका तीजलाई परम्परागत रूपमा महिलाको दुःख, पीडा साट्ने दिनका रूपमा सीमित बनाए पनि पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तीकरणका रूपमा हेरिँदै आएको छ । पित्तृसत्तात्मक समाजमा महिलाका दबाइएका आवाज, एउटा चेलीले घरमा भोग्नुपरेको दुःख, पीडाबाट छुटकारा लिएर माइतीघरमा आमा, दिदीबहिनी, साथीभाइसँग भेटघाट गरी गीतमार्फत आफ्ना वेदना पोख्ने तीजलाई महिला सशक्तीकरणको रूपमा हेर्न थालिएको हो ।

हरितालिका तीज पर्वको अवसरमा आज पशुपतिनाथलगायतका देशभरका शिव मन्दिरहरूमा बिहानैदेखि भीड लागेको छ ।

पशुपतिमा दर्शनार्थीहरूका लागि पशुपति क्षेत्र विकास कोषले चार वटा ठाउँबाट लाइनको व्यवस्था गरेको छ । कोषका अनुसार दर्शनका लागि गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ता–चप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको छ ।

यस्तै मित्रपार्क–जयबागेश्वरी–गौशाला–भुवनेश्वरी–शङ्कराचार्य मठ दक्षिण हुँदै फलामेपुल–पश्चिम सानो ढाकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शङ्कराचार्य मठ दक्षिण जुत्ता–चप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको छ ।

यस्तै पिङ्गलास्थानबाट वनकाली–चार शिवालय–पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकासम्मको लाइनलाई ६४ सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व दक्षिण निर्माण गरिएको जुत्ता–चप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको छ ।

यस्तै तिलगङ्गा–राम मन्दिर हुँदै बाग्मती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने व्यवस्था मिलाइएको छ ।

कोषले तिलगङ्गा आँखा अस्पतालतर्फको खुला क्षेत्र, सिफल चौरको खाली ठाउँ र गुह्येश्वरी पारिको खाली ठाउँमा दर्शनार्थीहरूको गाडी पार्किङ गर्ने व्यवस्था मिलाएको छ । धेरै भीड हुने भएकाले सकभर गरगहना नलगाउन र साना बालबच्चा नलिइकन पशुपति आउन पनि कोषले आग्रह गरेको छ

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट