Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

बुद्धराम दुलाल: एक श्रमिकको संघर्षमय जीवन


नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य शंकर दुलालका पिता बुद्धराम दुलालको निधनले हामी सबैलाई शोकाकुल बनाएको छ । गत शुक्रबार दिवंगत हुनुभएका बुद्धरामको जीवन एक साधारण नेपाली श्रमिकको संघर्ष र सादगीपूर्ण जीवनको जीवित उदाहरण हो । उहाँको जन्म २००४ साल भाद्र २७ गते चन्द्रगिरी नगरपालिका वडा नं. १४, नयाँ नैकाप झोले टोलमा भएको थियो । जीवनको ७८ औं वसन्त पार गरेका बुद्धराम दुलालले सरल, इमान्दार जीवन बिताउनुभयो । उहाँले जीवनमा धेरै संघर्षहरू गर्नुभयाे, तर उहाँ कहिल्यै थाक्नु भएन ।

बाल्यकाल र विवाह

बुद्धराम दुलालको बाल्यकाल कठिन परिस्थितिमा बित्यो । सानो उमेरमा नै उहाँले समाजका विभिन्न चुनौतीहरूको सामना गर्नुभएको थियो । २०१४ सालमा, जब उहाँ केवल ११ वर्षको हुनुहुन्थ्यो, उहाँको विवाह मनमाया रम्तेलसँग भयो । मनमाया पनि उहाँकै उमेरकी हुनुहुन्थ्याे र दुई जनाको जीवन संघर्षको बाटाेमा एकसाथ अघि बढ्यो ।

राजनीतिक चेतना र वाम आन्दोलन

पञ्चायतकालमै बुद्धराम दुलाल वाम आन्दोलनप्रति आकर्षित हुनुभएको थियो । उहाँको जीवनमा ईश्वरीप्रसाद दाहाल `असारे काका´ को ठूलो प्रभाव थियो । असारे काका र बुद्धराम दुलालबीचको मित्रता र राजनीतिक घुलमिलले उहाँलाई वाम आन्दोलनतिर आकर्षित गर्‍यो । यद्यपि उहाँले सक्रिय राजनीतिक भूमिका खेल्नुभएन, तर आफ्नो सानो जुत्ता पसलबाटै वाम आन्दोलनलाई समर्थन र सहयाेग गरिरहनु भयो ।

सिपालु श्रमिक

बुद्धराम दुलाल साक्षर, सरल र इमान्दार व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ कहिल्यै रक्सी, चुरोट, जुवा आदि कुलतमा फस्नु भएन । उहाँ जुत्ता सिलाउन सिपालु हुनुहुन्थ्यो । यही सीपका आधारमा लघु उद्योग सञ्चालन गरेर आफ्नो परिवारको पालनपोषण गर्नुभयो । टेवालमा रहेको उहाँको सानो जुत्ता पसलले परिवारमा आर्थिक भरथेग गरेकाे थियो ।

परिवार र सन्तान

बुद्धराम दुलालका पाँच छोरा र चार छोरी भए । उहाँका जेठो छोरा शंकर दुलाल, माइलो छोरा सीताराम दुलाल, साइला छोरा टीकाराम दुलाल, काइला गंगाराम (जुम्ल्याहा) र कान्छा छोरा पंचराम (सुजित) दुलाल हुनुहुन्छ । छोरीहरूमा जेठी निरु दुलाल, माइली दिलु दुलाल, साइली जमुना (जुम्ल्याहा) दुलाल र कान्छी यमुना दुलाल हुनुहुन्छ ।

बुद्धराम दुलालको परिवार राजनीतिक रूपमा पनि सक्रिय रहेको छ । उहाँका सबै सन्तानहरू र बुहारीहरू पार्टी सदस्यको रूपमा सक्रिय हुनुहुन्छ । उहाँकी कान्छी बुहारी शुभद्रा भुजेल बागमती प्रदेश सदस्य हुनुहुन्छ भने माइली बुहारी चन्द्रागिरी नगरपालिकाको कार्यपालिका सदस्य हुनुहुन्छ । उहाँको परिवारले बुद्धराम दुलालको राजनीतिक विचारधारालाई निरन्तरता दिइरहेको छ।

स्वास्थ्य र संघर्ष

उहाँले करीव ३० वर्षदेखि कृत्रिम अक्सिजनको सहारामा आफ्नो जीवनलाई चलाइरहनुभएको थियो । जीवनका पछिल्ला दिनहरूमा उहाँको स्वास्थ्य स्थिति झन् जटिल बन्दै गयो । उहाँ कहिले टेकु अस्पताल त कहिले मनमोहन अस्पताल स्वयम्भूमा उपचार गराइरहनुहुन्थ्यो । बिडम्बना, उहाँले आफ्नो जीवनको अन्तिम समयसम्म संघर्ष गर्नुपर्यो । अन्ततः, २०८१ साल भाद्र २१ गते साँझ ५ बजेर ३९ मिनेटमा उहाँले मनमोहन अस्पतालमा आफ्नो अन्तिम सास लिनुभयो । उहाँको निधनले उहाँको परिवार र उहाँलाई चिनेका, संगत गरेका सम्पूर्ण व्यक्तिहरूलाई गहिरो दु: ख महसुस गराएकाे छ।

अन्त्यमा,

बुद्धराम दुलालको जीवन कथा एउटा श्रमिकको जीवनयात्रा मात्र नभएर एक प्रेरणादायी जीवन हो । उहाँको सादगीपन, इमान्दारीता र संघर्षले नेपाली समाजका धेरै व्यक्तिहरूलाई प्रेरित गरिरहेको छ । उहाँको निधनले हामीलाई एउटा सच्चा श्रमिक, एक असल पिताको अभाव महसुस गराएको छ ।

बुद्धराम दुलालको जीवनले हामीलाई सधैं संघर्ष र सादगीपूर्ण जीवन बिताउन प्रेरित गर्नेछ । उहाँले दिएको शिक्षा र उहाँको जीवन दर्शन सधैं हामीमा जीवित रहनेछ । बुद्धरामप्रति हार्दिक श्रद्धाञ्जली तथा उहाँका परिवारप्रति समवेदना !


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट