आजको मौसम : केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
काठमाडौं । हिजोदेखि काठमाडौं उपत्यकासहित केही ठाउँको मौसम खुले पनि पानी पर्ने सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ ।
यस्तै कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकोले अझै केही दिन मौसममा खासै सुधार नहुने मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । अहिले पनि कोशी र गण्डकी प्रदेशका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मौसमविद् पुडासैनीका अनुसार भोलि र पर्सि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका ठूलो वर्षाको सम्भावना रहेको छ । भारतको छत्तीसगढ आसपास बनेको न्यूनचापीय प्रणालीको असरले भोलि र पर्सि पूर्वमा भन्दा पश्चिम ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया