Techie IT
Samayabaddha
बिहीबार, २५ पुस, २०८१

सामसुङका श्रमिकको आन्दोलन चर्कियाे, सयभन्दा बढी गिरफ्तार


दक्षिण भारतको तमिलनाडु राज्यमा रहेको सामसुङ इलेक्ट्रोनिक्सको कारखानामा कार्यरत श्रमिकहरूको आन्दोलनले चर्को रुप लिएको छ। गत सातादेखि आन्दोलनमा रहेका करिब १,७०० श्रमिकहरूमध्ये १०० भन्दा बढीलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ। ती श्रमिकहरूले जिल्लाका प्रशासकको कार्यालयमा जुलुश गर्न खोज्दा पक्राउ परेका हुन्।

सामसुङको घरेलु उपकरण उत्पादन गर्ने यो कारखानामा कार्यरत श्रमिकहरूले लामो समयदेखि उचित तलब, राम्रो काम गर्ने घण्टा र श्रमिकहरूको युनियनलाई मान्यता दिनुपर्ने माग गर्दै आएका छन्। तिनीहरूको आन्दोलनले कारखानाको उत्पादनमा असर परेको छ।

तमिलनाडु प्रहरीका अनुसार स्कूल, कलेज र अस्पतालहरूको उपस्थितिलाई ध्यानमा राख्दै उक्त क्षेत्रमा मार्चको अनुमति दिइएको थिएन। तर श्रमिकहरूले भने आफ्नो हक अधिकारको लागि आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

सामसुङ इन्डिया वर्कर्स युनियन, जसलाई भारतको केन्द्रीय ट्रेड यूनियन (CITU) ले समर्थन गरिरहेको छ,ले श्रमिकका तलब सुधार लगायत अन्य मागका विषयमा छलफलको लागि व्यवस्थापनसँग वार्ताको माग राखेको छ। तर, सामसुङले CITU द्वारा समर्थित कुनै पनि युनियनलाई मान्यता दिन अस्वीकार गरेको र हालसम्म राज्य अधिकारीहरू र श्रमिकहरूबीच भएको वार्ताले कुनै ठोस नतिजा निकाल्न नसकेको रिपोर्टहरूमा उल्लेख गरिएको छ।

सामसुङको यो कारखानाले भारतमा वार्षिक १२ अर्ब डलर राजस्वमा लगभग एक तिहाइ योगदान पुर्याउँछ। यस्तोमा, भारतीय चाडपर्व नवदुर्गा र दीपावलीको समयमा यो आन्दोलन हुनुले फोन र उपकरणहरूको बिक्रीमा थप असर पर्नसक्ने अनुमान गरिएको छ।

सामसुङ इन्डियाका प्रवक्ताले गत हप्ता दिएको जानकारी अनुसार, कम्पनी श्रमिकहरूको समस्या समाधान गर्न सक्रिय रहेको र सबै कानूनी तथा नियमहरूको पालना गरिरहेको जनाएको छ।

भारतमा सामसुङका उत्पादनहरूको बजार महत्त्वपूर्ण रहेको छ, जहाँ यसवर्षको दोस्रो त्रैमासिकमा सामसुङले मूल्यका आधारमा २४% बजार हिस्सा हासिल गरेको थियो।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट