रवि लामिछानेले गोरखा मिडियामा बुझ्थे ६ लाखभन्दा बढी तलब, वर्षमा ७४ लाख

काठमाडौं । गोरखा मिडिया प्रालिका प्रबन्ध निर्देशक तथा सञ्चालक रवि लामिछानेले डेढ वर्ष (१८ महिना) अवधिमा १ करोडभन्दा बढी तलब लिएको छ। सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन प्रतिवेदनले यो तथ्य उजागर गरेको हो।
प्रतिवेदन अनुसार, लामिछानेले आर्थिक वर्ष २०७७/७८ मा ३० लाख रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा ७४ लाख ३६ हजार ५८७ रुपैयाँ तलब बुझेका थिए। उनी १ माघ २०७७ देखि १ असार २०७९ सम्म गोरखा मिडियामा आवद्ध थिए। यसरी लामिछानेले मासिक ६ लाख २० हजार रुपैयाँ तलब लिएको देखिएको छ।
यसै अवधिमा, राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले पनि ५३ लाख ५३ हजार १६६ रुपैयाँ तलब बुझेको प्रतिवेदनमा उल्लेख छ। मिडियाका अध्यक्ष गितेन्द्रबाबु राईले भने आर्थिक वर्ष २०७८/७९ मा ३० लाख रुपैयाँ तलब पाएका थिए।
गोरखा मिडियाले तलबका लागि मात्र १४ करोड ९३ लाख २२ हजार रुपैयाँ खर्च गरेको देखिएको छ। यसै बीच, विभिन्न सहकारीबाट गैरकानुनी रूपमा आएको ६५ करोड रुपैयाँ अपचलन गरेको ठहर गर्दै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेमाथि कारबाही गर्न संसदीय समितिले सिफारिस गरेको छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया