मेलम्ची खानेपानी आयोजना भ्रष्टाचार : विशेष अदालतबाट दोषी ठहर भएका चार जना र तीन कम्पनीलाई सजाय निर्धारण
काठमाडौं । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका चार जना र तीन कम्पनीलाई सजाय निर्धारण गरेको छ । अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले दोषी ठहर भएका व्यक्ति र कम्पनीलाई हिजो सजाय निर्धारण गरेको हो ।
अदालतले गएको भदौ २५ मा खानेपानी आयोजनामा भ्रष्टाचार भएको ठहर गरेको थियो । पूर्वसचिव गजेन्द्रकुमार ठाकुरसहित चार जनालाई जनही आठ वर्ष कैद ठहर गरिएको छ ।
अदालतले सजाय निर्धारण गर्दा पूर्वसचिव तथा मेलम्ची खानपानी समितिका तत्कालीन अध्यक्ष पूर्वसचिव ठाकुर र समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेललाई जनही आठ वर्ष एक महिना कैद र जरिवाना १० करोड १० लाख ६१ हजार ७५ निर्धारण गरेको छ ।
अदालतले तत्कालीन खानेपानी विकास र समितिको कार्यकारी निर्देशक तथा लेखा उत्तरदायी अधिकारीसमेत रहेका रामचन्द्र देवकोटालाई आठ वर्ष एक महिना कैद र दुई करोड ९५ लाख ६५ हजार छ सय ३ जरिवाना र परामर्शदाता कम्पनी इप्टिसा जेभीका टिम लिडर शिवकुमार शर्मालाई आठ वर्ष कैद तर ज्येष्ठ नागरिक भएकाले दुई वर्ष कैद छुट र दुई करोड ९५ लाख ६५ हजार छ सय ३ जरिवाना तोकेको छ ।
अदालतले परामर्शदाता कम्पनी इप्टिसालाई छ करोड २१ लाख ९३ हजार पाँच सय ९६ तथा बेट्र्स सिएमसी डी राभेनालाई पनि जरिवाना तय गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० फागुन ६ गते विशेषमा मुद्दा दायर गरेको थियो ।
यो मुद्दामा अदालतले डा।सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, मुकुन्दप्रसाद पौडेल, रुद्रसिंह तामाङ, चन्द्रबहादुर थापा, घनश्याम भट्टराई, मणिभद्र न्यौपाने, भोजविक्रम थापा, रामचन्द्र न्यौपाने, वेगनाथ पौडेल र केदारप्रसाद अर्याललाई सफाइ दिएको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया