विपिन जोशी रिहाइको पहलबारे अन्तर्राष्ट्रिय मञ्चमा परराष्ट्रमन्त्री राणाले गराइन विश्व समुदायको ध्यानाकर्षण
काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको सकुशल रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायको ध्यानाकर्षण गराएकी छन् ।
असंलग्न राष्ट्रहरूको सङ्गठन, नामको मन्त्रिस्तरीय बैठकलाई सोमबार न्युयोर्कमा सम्बोधन गर्दै मन्त्री राणाले जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराएकी हुन् ।
उनले नेपाल विपीन जोशीको स्वागतका लागि व्यग्र प्रतिक्षामा रहेको भन्दै यसका लागि विश्व समुदायको सहयोगको अपेक्षा गरेको बताएकी छन् ।
गत अक्टोबरमा इजरायलमा अध्ययन भ्रमणको लागि गएका नेपाली विद्यार्थी विपीन जोशीलाई हमासले कब्जामा लिएको थियो । उनीसँगै गएका अन्य १० जना नेपाली विद्यार्थीहरू लगायत अरु पनि कयौंको हमास–इजरायल बीच भएको आक्रमणको क्रममा ज्यान गएको थियो ।
हमास कब्जामा रहेका विपिन जोशीलाई अहिलेसम्म किन र कस्तो कस्तो अवस्थामा राखिएको छ भन्ने स्पष्ट जानकारी छैन ।
नेपाल सरकारले आक्रमणबाट बचेका अन्य विद्यार्थीहरुलाई तत्काल उद्धार गरेको थियो । विपिन जोशीको रिहाईको लागि नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा आवास उठाउँदै र कुटनीतिक पहल गर्दै आइरहे पनि उनको अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।
मन्त्री राणाले इजरायल र प्यालेष्टिन, रुस युक्रेन होस् या अन्य यस्ता प्रकारका द्वन्द्वहरूको समाधान रचनात्मक तरिकाबाट खोज्न र हिंसा अन्त्यका लागि दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध पनि गरेकी छन् । उनले नेपाल असंलग्न अभियानको एक प्रतिवद्ध सदस्य राष्ट्र रहेकाले सबै देशहरूबीच शान्तिपूर्ण सहअस्तित्वका आधारमा सहकार्य गरी अघि बढ्ने धारणा राख्दै शान्ति र सहअस्तित्वका लागि एक हुन विश्व समुदायलाई अपिल गरेकी छन् ।
विपीन जोशीको रिहाइका लागि गरिएको परराष्ट्रमन्त्री राणाको ध्यानाकर्षणले विश्व समुदायको ध्यान खिच्न सफल भएको छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया