Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

श्रीलंकामा राजनीतिक परिवर्तन : नेपालका लागि सबक


दिसानायकेको विजय श्रीलंकाको दुई वर्षको गहिरो आर्थिक संकट, सरकारी असफलताहरू र जनताको आक्रोशको प्रतिफल हो । सन् २०२२ को आर्थिक पतनको चरम बिन्दुमा राष्ट्रपति बनेका रनिल विक्रमसिंघेले कडा आर्थिक सुधारका नीतिहरू लागू गरे । जसले जनतालाई ठूलो कठिनाइमा पा-यो । मुद्रास्फीति, अत्याधिक ऋण, खाद्यान्न अभाव र दैनिक उपभोग्य वस्तुहरूको महँगीले देशभर असन्तोष फैलायो । विक्रमसिंघेले अचूक उपायको रूपमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सहयोगमा आर्थिक सुधार कार्यक्रम अघि बढाए तर ती सुधारहरू जनताको हितमा नदेखिएको आभासले उनलाई चुनावमा पराजित गरायो ।

दिसानायकेले यस असफलता र भ्रष्टाचारको अन्त्य गर्ने प्रतिज्ञा गर्दै चुनावी अभियान सञ्चालन गरे । जसले जनताको समर्थन पाउन सफल भयो । उनले आफ्नो विजयलाई आर्थिक सुधारका नाममा जनतालाई पीडा दिने राजनीतिक प्रणालीको अस्वीकृति भएको बताए । उनको वामपन्थी दृष्टिकोणले देशलाई नयाँ राजनीतिक संस्कृतितर्फ लैजाने वाचा गरेको छ । जहाँ भ्रष्टाचार र असमानताको अन्त्य हुनेछ ।

श्रीलंकामा वामपन्थी उम्मेदवारको विजयले नेपाललगायत दक्षिण एसियाली मुलुकहरूमा प्रभाव पार्न सक्ने संकेत देखिएको छ । दक्षिण एसियामा अधिकांश मुलुकहरू समान आर्थिक चुनौतीहरू, विशेषगरी भ्रष्टाचार र असमान राजनीतिक शक्ति संरचनाबाट पीडित छन् । उदाहरणका लागि नेपालमा पनि आर्थिक असमानता, भ्रष्टाचार र राजनीतिक अस्थिरता भनेका प्रमुख मुद्दाहरू हुन् । श्रीलंकामा देखिएको जनताको आक्रोश र नयाँ राजनीतिक विकल्पप्रतिको आशाले नेपाल र बंगलादेशजस्ता मुलुकहरूमा पनि जनता सुधारको माग गर्दै अघि बढ्न सक्ने सम्भावना देखाएको छ ।

नेपालमा स्थानीय चुनावमा देखिएको स्वतन्त्र उम्मेदवारहरूको उदय र परम्परागत दलहरूप्रतिको आक्रोश यसै परिप्रेक्ष्यमा राखेर हेरिनुपर्छ । भ्रष्टाचार र असमानताले पिल्सिएका जनताले नयाँ नेतृत्व र नयाँ राजनीतिक संस्कृतिको माग गर्दैछन्, जुन श्रीलंकामा दिसानायकेको चुनावी जीतले उदाहरणका रूपमा प्रस्तुत गरेको छ ।

श्रीलंकाको आर्थिक मन्दीले दक्षिण एसियाली क्षेत्रलाई नै प्रभावित गरेको छ । आईएमएफको सहायता लिने श्रीलंका मात्र होइन, नेपाल, पाकिस्तान र बंगलादेश पनि आर्थिक मन्दीको चपेटामा छन् । आईएमएफको कडा शर्तहरूको आलोचना गर्दै दिसानायकेले केही शर्तहरू पुनःवार्ता गरेर परिमार्जन गर्ने प्रतिज्ञा गरेका छन् । यस्ता कदमले अन्य देशहरूलाई पनि आफ्नो आर्थिक नीतिहरूमा पुनर्विचार गर्न प्रेरित गर्न सक्छ ।

नेपालले पनि आईएमएफबाट आर्थिक सहायता लिने प्रक्रियामा रहेको छ र यदि श्रीलंकाले आईएमएफ सम्झौतामा पुनःवार्ता गर्दै आफ्ना शर्तहरू परिमार्जन गर्न सक्यो भने नेपालले पनि त्यस्तै दृष्टिकोण अपनाउने सम्भावना रहन्छ । यसले आईएमएफजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूसँग दक्षिण एसियाली मुलुकहरूको सम्बन्धलाई पुनर्परिभाषित गर्न सक्नेछ ।

यो स्पष्ट छ, श्रीलंकाको राष्ट्रपतिको चुनाव परिणाम आर्थिक मन्दी र भ्रष्ट राजनीतिक संस्कृतिविरुद्ध जनताको कडा अस्वीकारको उदाहरण हो । वामपन्थी उम्मेदवार अनुर कुमार दिसानायकेको विजयले दक्षिण एसियामा राजनीतिक जागरण ल्याउन सक्ने सम्भावना छ । नेपाललगायतका मुलुकहरूमा पनि जनताले राजनीतिक सुधार र भ्रष्टाचारविरोधी नीतिहरूको माग गर्न थालेको परिप्रेक्ष्यमा श्रीलंकाको अनुभवले क्षेत्रीय राजनीतिमा ठूलो प्रभाव पार्न सक्छ । आर्थिक मन्दीको सामना गरिरहेका देशहरूमा जनताको मागको सम्बोधन गर्ने क्षमता नेतृत्वको मुख्य चुनौती बन्नेछ ।

नेपालको सन्दर्भमा श्रीलंकाको चुनौती अहिले उस्तै रहेको देखिन्छ । भारत र अमेरिकाको गठजोडमा नेपालभित्र चीनलाई घेरा हाल्ने योजना बनाउँदै गरिएको विभिन्न राजनीतिक गतिविधिले प्रष्ट पारेको छ । देशमा बन्दै गएको असन्तुष्टिको माहोललाई ठीक ढंगले समाधान गर्न नसकेमा यहाँ जातीय र साम्प्रदायिक दंगा र युद्धको तयारी भइरहेको छ । नेपालमा नेकपा माओवादीद्वारा गरिएको जनयुद्धको बैठान शान्ति प्रक्रिया ठीक ढंगले भएन भने यस्ता चुनौतीलाई अन्यथा मान्न नसकिने देखिन्छ ।


क्याटेगोरी : बिचार, समाचार

प्रतिक्रिया


ताजा अपडेट