जितिया पर्व आज धुमधामका साथ मनाइँदै
धनुषा । देशको तराई क्षेत्रका महिलाहरुले तीन दिनसम्म मनाउने जितिया पर्व आज धुमधामका साथ मनाइरहेका छन् । पर्वका तीन दिनमध्ये आज मुख्य दिन हो ।
जितिया पर्व विशेषगरी भारतको बिहार, उत्तर प्रदेश, नेपालका तराई क्षेत्र र मधेसी समुदायमा मनाइने एक महत्वपूर्ण पर्व हो । यो पर्व विशेषतः माताहरूले आफ्ना सन्तानको दीर्घायु, समृद्धि र सुखी जीवनको कामना गर्दै बस्ने कठिन व्रतको रूपमा परिचित छ । जितियाको नामले प्रख्यात यो पर्वमा विशेषगरी छोराहरूको कल्याणका लागि व्रत बस्ने चलन छ, तर अहिलेको समयमा छोरीहरूको जीवनको उन्नति र कल्याणका लागि पनि यो पर्व मनाउन थालिएको छ ।
यो पर्व हिन्दू क्यालेन्डर अनुसार आश्विन महिनाको कृष्ण पक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म चल्दछ । पहिलो दिनलाई नहाय–खाय भनिन्छ । यस दिन व्रतालु महिलाहरू शुद्ध भएर स्नान गर्दछन् र शुद्ध भोजन गरेर अर्काे दिनको कठोर व्रतको तयारी गर्दछन् । दोस्रो दिन मुख्य व्रत बसिन्छ, जसलाई खुर–जेवितिया भनिन्छ । यस दिन महिलाहरू निर्जला व्रत बस्छन्, अर्थात खाना–पानी केही नखाई दिनभर आफ्नो सन्तानको कल्याणको कामना गर्दै भगवान जीवित्पुत्रिकाको पूजा गर्दछन् । अन्तिम दिन व्रत तोडेर भोजन गरिन्छ, जसलाई पारण भनिन्छ ।
जितिया पर्वको धार्मिक र सांस्कृतिक महत्व गहिरो छ । धार्मिक मान्यताअनुसार, यो पर्व भगवान जीवित्पुत्रिकाको पूजा र आराधना मार्फत मनाइन्छ, जसले व्रत बस्ने माताहरूका सन्तानलाई दीर्घायु, सुख–समृद्धि प्रदान गर्ने विश्वास गरिन्छ । यो पर्वले महिलाहरूमा आफ्नो सन्तानप्रति जिम्मेवारी र समर्पणको भावना प्रकट गर्दछ । साथै, यो पर्वले सामाजिक एकता, परिवारप्रतिको माया र मातृप्रेमलाई सशक्त बनाउने महत्वपूर्ण भूमिका खेल्छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया