Techie IT
Samayabaddha
सोमबार, ८ वैशाख, २०८२

चाडबाड केन्द्रित बजार अनुगमन तीब्र पार


हिन्दू नेपालीहरको सबैभन्दा ठूलो पर्व दशैँ र त्यसको लगतै तिहार, नेपाल सम्वत, छठ, ल्होसार आदि पर्वहरु आउनै लागेका छन् । चाडबाडलाई केन्द्रित गरेर सरकारले सहुलियत बजार सञ्चालन गरको छ । खाद्य संस्थानले यसपटक पनि दशैंका लागि खशी, बोका र च्याङ्ग्रा बिक्री गर्ने भएको छ । सरकारले देशका ६० भन्दा ५० भन्दा बढी जिल्लामा सहुलियत बजार सञ्चालन गरिसकेको छ । ती बजारमा चामल, दाल, गेडागुडी, मैदा, जिरा, चिउरा, तेल, चिनी लगायका खाद्य सामाग्री सस्तो मूल्यमा पाइन्छ ।

संविधानले व्यवस्था गरेबमोजिम देशमा तीन तहको सरकार छ । तर, स्थानीय सरकार अझ जनताको प्रत्यक्ष सरोकार राख्ने अधिकारसम्पन्न सरकार भएकाले स्थानीय सरकारले, स्थानीय पालिका तथा वडाले पनि जनताका लागि यस्ता सहुलियतका खाद्य पसल चाडबाडमा मात्र नभई वर्षैभरि सञ्चालन गर्न जरुरी छ । लोकप्रियता हासिल गर्ने होडबाजीका नाममा जनताप्रति उत्तदरदायी भएका कतिपय स्थानीय सरकारले आफूखुसी कर उठाउने, आफुखुसी बिभिन्न प्रकारका रकम बाँड्ने कार्यसमेत गरिरहेका छन् । ती स्थानीय तहहरुले कम्तिमा पनि प्रत्येक जिल्ला सदरमुकाम र प्रत्येक नगरपालिका वा गाउँपालिकामा वर्षैभरि सहुलियत दरका खाद्यसामाग्री पसल सञ्चालन गर्ने हो भने जनताले कालोबजारी, ठगी आदिबाट जोगिने थिए ।

चाडबाडका बेला सरकारले कर्मचारीहरुलाई एक महिना बराबरको तलव प्रदान गर्ने गर्छ । सरकारी सेवामा नभएका तथा गैरसरकारी कार्यालयमाहरुमा काम गर्ने कर्मचारीले भने दशैँमा छुट्टै बोनस रकम प्राप्त गर्दैनन् । यसले गर्दा पनि गैरसरकारी सेवामा काम गर्ने कर्मचारीहरु र सरकारी सेवामा काम गर्ने कर्मचारीहरुबीच ठूलो विभेद हुने गरेको छ । अझ दशैँका बेला यातायात क्षेत्रमा त झन ठूलो ठगी हुने गरेको पाइन्छ । यात्रुसँग दोब्बर भाडा असुलेर यातायात व्यवसायीहरुले ठगी गरिरहेको खुलेआम देख्न सकिन्छ । यसका लागि सरकारले अग्रिम बुकिङ भएका ठाउँहरुमा चनाखो भएर रेखदेख गर्ने, जनताका गुनासाहरु तत्काल सम्बोधन गर्न सक्नेगरी सुरक्षाकर्मीहरु खटाउने हो भने पनि धेरै जनता ठगिनबाट जोगिन सक्छन् ।

चाडबाडको बेलामा अन्य समयभन्दा सबैलाई धेरै रकम कमाउने ध्येय हुन्छ । त्यसैले व्यापारीहरुले पनि खाद्य पदार्थमा अखाद्य बस्तु मिसाएर बिक्रि बितरण गर्ने गरेको बिगतका घटनाबाट देखिदै आएको छ । तसर्थ खाद्य तथा गुणनियन्त्रण विभाग चाडबाडको बेलामा झन बढी सचेत र चलाख हुनुपर्छ । आँखामा छारो हाल्ने किसिमले र झारा टार्ने गरी गरिएका अनुगमन, नियमनले आफ्नालाई काखा र अरुलाई पाखा गर्ने गरेको हामी पाउँछौँ । अनुगमन कार्यहरु यदि निश्पक्ष ढंगले गरिएको खण्डमा चाडबाडहरु दशा र रोग निम्त्याउने अखडा बन्ने थिएनन्् कि ! यसतर्फ तीनवटै तहका सरकार गम्भीर बन्न जरुरी छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट