Techie IT
Samayabaddha
शुक्रबार, २६ पुस, २०८१

देशका यी जिल्लामा अति उच्च सतर्कता अपनाउन बाढी महाशाखाको सुझाव


काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले शुक्रबार विहान बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण जिल्लाहरुको सूची सार्वजनिक गरेको छ । आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले जल सतह बढ्न सक्ने विवरण सार्वजनिक गरेको हो ।

आज शुक्रबार बिहान बाढी पूर्वानुमान बुलेटिन जारी गरी महाशाखाले तराईका सबै जिल्लासहित देशका २० जिल्लामा अति उच्च सतर्कता अपनाउन सुझाव दिएको हो ।

बाढी महाशाखाले भनेको छ– आज मधेस प्रदेशका सबै जिल्ला, उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, रुपन्देही, कपिलवस्तु, तनहुँ, स्याङ्जा, पर्वत र आसपासका जिल्ला भई वहने अधिकांश ससाना नदीको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको उच्च जोखिमको पूर्वानुमान रहेकाले अति उच्च सतर्कता अपनाइराखौँ ।

साथै आज पाँचथर, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, इलाम, झापा, मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा, गोरखा, लमजुङ, कास्की, म्याग्दी, बाग्लुङ, प्युठान, गुल्मी, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सल्यान, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने अनुमान रहेकाले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यसैगरी आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख, अछाम र आसपासका जिल्ला भई वहने केही ससाना नदीमा पनि बहाव बढ्ने सम्भावना देखिएकाले नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन सुझाव दिइएको छ।

बाढी महाशाखाका अनुसार आगामी ३ दिन कोसी, नारायणी, कर्णाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला नदीको जलसतह सतर्कता तहआसपास रहने अनुमान रहेकाले नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जरुरी रहेको जनाएको छ ।

साथै आज र भोलि देशभरका नदीको बहाव उल्लेख्य बढ्ने तथा नारायणी, बागमती, तिनाउ, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह खतरा तह आसपास पुग्ने पूर्वानुमान रहेकाले नदीतटीय क्षेत्रका क्रियाकलापमा अति उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

असोज ११ गते नारायणी नदीमा उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहने विभागको अनुमान छ । यस्तै कन्काई नदी ११ गते उच्च जोखिम हुने र अरु समयमा मध्यम जोखिम हुने जनाइएको छ । कमला नदी असोज ११ गते उच्च र १२ गते मध्यम तथा बागमती नदी पँधेरा दोभानमा ११ गते उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहेको महाशाखाले जानकारी गराएको छ ।

यस्तै पूर्वी राप्ती रजैयामा असोज ११ गते मध्यम जोखिम रहेको छ भने असोज १२ गते उच्च जोखिम रहेको विवरण सार्वजनिक गरेको छ । यस्तै पश्चिम राप्ती कुसुममा असोज ११ गते मध्यम जोखिम रहेको तर असोज १२ गते भने अति उच्च जोखिम रहेको तथा बबई नदी असोज ११ गते मध्यम जोखिम छ भने असोज १२ गते अति उच्च जोखिम रहेको जनाइएको छ ।

यी उच्च र मध्यम जोखिम रहेका नदी तथा त्यसका सहायक नदीहरूमा जलसतह खतराको तह आसपास र केही क्षेत्रमा खतराको तहसमेत पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अबको तीन दिन ती नदी तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध पनि गरिएको छ । असोज १४ गतेदेखि भने यस प्रणाली कमजोर हुने जनाइएको छ ।

विपद् प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले नदी आसपासका बासिन्दा, डुबान हुने क्षेत्रका बासिन्दा र पहिरो खस्ने जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन् । उनले विपद् पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णयानुसार उच्च जोखिम रहेका ५६ जिल्लामा रात्रिकालीन बस नचलाउन आग्रह गरिएको पनि जानकारी दिए ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट