आजबाट दशैँको लागि लामो र मध्यम दूरीको अग्रिम टिकट बुकिङ खुला, छाता ओढेर टिकट काट्दै यात्रु
काठमाडौं । सरकारले दशैँका लागि आजदेखि लामो र मध्यम दूरीको अग्रिम टिकट बुकिङ खुला गरेको छ । काठमाडौं उपत्यकाबाट चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला भएको हो । घटस्थापना आउन पाँच दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन आज बिहानैदेखि यात्रुको भीड छ । निरन्तर पानी परेकाले छाता ओढेर यात्रु टिकट काट्न लाइनमा छन् ।
अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वका ताप्लेजुङ, इलाम, काँकडभित्तालगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ । सरकारले अनलाइनमार्फत टिकट काट्न पाउने व्यवस्था मिलाए पनि यात्रु भने बिहानैदेखि छाता ओढेर लाइनमा बसेका हुन् ।
सार्वजनिक यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आज बिहान ६ बजेदेखि नै अग्रिम टिकट बुकिङ खुला भएको जानकारी दिए । उनले यसपालिको दशैँमा घर जानका लागि यात्रुले सहजै टिकट पाउने दाबीसमेत गरे । सडकका कारण आवतजावत गर्न समस्या हुन सक्ने तर बस र टिकट नपाएर कोही पनि यात्रु रोकिनु नपर्ने उनको भनाई छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया