Techie IT
Samayabaddha
शनिबार, २७ पुस, २०८१

अखिल (क्रान्तिकारी) नेतृत्व चयनमा अनिश्चितता, खुकुरी प्रदर्शनपछि परिस्थिति अझै सङ्लिएन


रामहरि खनाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनको नेतृत्व चयन प्रक्रिया अनिश्चित बनेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ `सर्वसम्मत´ नेतृत्व चयनको प्रयासमा जुटे पनि पार्टी उपमहासचिव जनार्दन शर्माको असहमति देखापरेपछि सम्मेलन विभिन्न वहानामा अड्काइएको छ ।

पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्मका सम्मेलन सम्पन्न भइसकेपछि उमेर हदका कारण सम्मेलनमा अहिले बखेडा उठाइएकाे छ । यदि उमेर हदकाे कुरा गरेकाे भए पालिका, जिल्लासहित तलका सम्मेलनपूर्व विधान सम्मेलन गर्नुपर्थ्याे ।

अध्यक्ष प्रचण्डका लामो समय स्वकीय सचिव रहिसकेका लुम्बिनीका निवर्तमान मुख्यमन्त्री जोखबहादुर महराका छोरा विद्यार्थीका उपाध्यक्ष तुकमान महराको संलग्नतामा सम्मेलन परिसरमा सोमबार खुकुरी प्रदर्शन भएपछि सम्मेलन तनावपूर्ण बनेको छ । तुकमानको पक्षधरहरूले आजदेखि प्रतिनिधिहरूको विवादसमेत उठाएर सम्मेलनमा अराजकता फैलाउने थप प्रयास गरेका छन् ।

अध्यक्ष प्रचण्ड र उपमहासचिव वर्षमान पुनको रोजाइमा अध्यक्षका लागि दीपेश पुन प्राथमिकतामा थिए । तर, सहकारी र सुन तस्करी जस्ता विवादमा मुछिएका कारण पुनको विकल्पमा तुकमान महरालाई अध्यक्ष बनाउन चाहिएको थियो । तुकमानको पक्षमा माहौल अनुकूल नदेखिएपछि अध्यक्ष प्रचण्डले पवन कार्कीलाई अघि सारेका थिए ।

तर, संगठनभित्र समानान्तर गतिविधिमा संलग्न रहेका कारण धेरै विद्यार्थीहरूले पवनलाई समर्थन गरेनन् ।  प्रचण्डले पवन र दीपेशबीच सहमति खोजे पनि उनीहरूबीच टिम नमिल्नाले नरेश रेग्मीलाई नेतृत्वका लागि प्रस्ताव गरियाे । यसबारे उपमहासचिव शर्मा पक्षले नारायण खनाल वा आफ्ना पक्षका अरू कुनै विद्यार्थी नेतालाई अध्यक्ष बनाउने प्रस्ताव राख्यो, तर अध्यक्ष प्रचण्डले यसलाई अस्वीकार गरे ।

एकातिर निर्वाचनकाे प्रक्रिया राेक्ने र आफूलाई अध्यक्षकै दावी गर्ने विद्यार्थी नेताहरूले नयाँनयाँ बखेडा झिक्ने कारणले विद्यार्थी संगठन र आन्दाेलन थप कमजाेर बन्ने सम्भावना छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट