Techie IT
Samayabaddha
शनिबार, २७ पुस, २०८१

बाढी पहिरोबाट ऊर्जा, जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षतिको अनुमान


काठमाडौं । गत शुक्रबार र शनिवार दुई दिनको अविरल वर्षाका कारण मुलुकभर आएको बाढी तथा पहिरोले ठूलो मानवीय क्षति सँगै ऊर्जा क्षेत्रमा करिब साढे ४ अर्ब ३५ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ ।

आइतबार सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यस्तो जानकारी दिएको हो । मन्त्रालयले ऊर्जातर्फ २ अर्ब ४५ करोड, सिंचाईतर्फ १ अर्ब ३५ करोड र नदी नियन्त्रणतर्फ करिब १ अर्ब १६ करोड २० लाख रुपैयाँ गरी समग्रमा करिब ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ ।

अविरल वर्षाका कारण देशभरका २६ वटा जलविद्युत आयोजनामा क्षति पुगेको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।

बिहीबार रातिदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण ११ सय मेगावाट बराबरको बिजुली उत्पादन रोकिएको समेत उनले बताए । कुल १ हजार १० मेगावाट जडित क्षमताका १५ वटा निर्माणाधीन आयोजनामा क्षति पुगेको मन्त्रालयले जनाएको छ । उनले जलविद्युत र प्रशारणलाइनतर्फ २ अर्ब ४५ करोड बराबरको क्षति भएको बताए । मन्त्रालयले यो क्षति प्रारम्भिक अनुमान मात्रै रहेको भन्दै अझै बढ्नसक्ने बताएको छ ।

मन्त्री खड्काले सिंचाईतर्फ १ अर्ब ३५ करोड बराबरको क्षति भएको उल्लेख गरे । मन्त्री खड्काले बाढी र पहिरोले निजी क्षेत्रका २६ वटा भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुगेको पनि बताए । ऊर्जामन्त्री खड्काले दुई दिनसम्म लगातार परेको अविरल वर्षाका कारण तामाकोशी जलविद्युत आयोजनामा काम गर्ने विद्युत प्राधिकरणका दुई जना कर्मचारी र सुरक्षामा खटिएका नेपाल आर्मीका दुई जना गरी चार जना बेपत्ता भएको बताए ।

मन्त्री खड्काले निजी क्षेत्र र सरकारको लगानीमा निर्माण भएका जलविद्युत, ट्रान्समिसन लाइनमा ठूलो क्षति भएको जानकारी दिए । मन्त्री खड्काले मौसम विभागले पूर्वअनुमान गरी दिएको सूचनाको कारण अझै क्षति कम भएको पनि बताए ।

सञ्चालनमा रहेका ६२५.९६ मेगावाटका ११ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ । सञ्चालनमा रहेका ४५६ मेगावाटको माथिल्लो तामाकोशी, २२ मेगावाटको वाग्मती साना जलविद्युत आयोजना, २२.१ मेगावाटको तल्लो हेवा खोला, १४.९ मेगावाटको हेवा खोला–ए, ८६ मेगावाटको सोलु दूधकोशी, ४ मेगावाटको माई खोला क्यास्केड, ९.६ मेगावाटको माई खोला जलविद्युत, १ मेगावाटको फेमे खोला, ५ मेगावाटको सिउरी खोला, २ मेगावाटको खानी खोला र ४.३६ मेगावाटको टुंगुन ठोस्नेमा क्षति भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै निर्माणाधीन २१६ मेगावाटको अपर त्रिशूली–१,४० मेगावाटको सुपरन्यादी, २५ मेगावाटको इलेप खोला तातोपानी, ५ मेगावाटको हेवा खोला, १५.१ मेगावाटको सभाखोला बी, ६.३ मेगावाटको सभाखोला सी, ८६.५९ मेगावाटको लान्द्ररुक मोदी, १ सय मेगावाटको सुपर त्रिशूली, २० मेगावाटको लाङटाङ खोला, १४.९ मेगावाटको माया खोला, ९९.४ मेगावाटको लाप्चे खोदा, ४० मेगावाटको भोटेकोशी १,८२ मेगावाटको तल्लो सोलु, १४० मेगावाटको तनहुँ र १२० मेगावाटको रसुवा भोटेकोशीमा समेत क्षति पुगेको विज्ञप्तिमा जनाइएको छ ।

सबैभन्दा बढी माथिल्लो तामाकोसीमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

मन्त्री खड्काले ऊर्जा मन्त्रालय अन्तर्गत भएको क्षतिको विवरण मात्रै आफूले सार्वजनिक गरेको भन्दै तामाकोशी जलविद्युत आयोजनामा काम गर्ने विद्युत प्राधिकरणका दुई जना कर्मचारी र सुरक्षामा खटिएका नेपाल आर्मीका दुई जना बेपत्ता भएको बताएका छन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट