अखिल क्रान्तिकारीको नेतृत्वमा नवमण्डले सोंच हावी भएको शक्ति बस्नेतको ठहर
रामहरि खनाल
काठमाडौं । अखिल क्रान्तिकारीको विवाद मिलाउन अध्यक्ष प्रचण्डका तर्फबाट जिम्मा पाएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेतले अखिल (क्रान्तिकारी) को नेतृत्वमा अराजनीतिक, असाँस्कृतिक, नवमण्डले सोंच हावी भएको पार्टीको पदाधिकारीको वैठकमा निश्कर्ष सुनाए । उमेर हद नाघेका विद्यार्थी जम्मा २० प्रतिशत मात्र रहेको र समस्याको केन्द्र तिनै भएको उनको ठहर छ ।
मतदानमा जाने हो भने त्यो पक्ष हार्छ, त्यसो भएमा हत्या हुन्छ, जेल जानु परे गइन्छ, सम्मेलन हलमा आगो लगाइन्छ भनेर धम्की दिएर भिजिलान्तेको रुप धारण गरेको भन्दै बस्नेतले चिन्ताका साथ वैठकमा रिपोर्टिंग गरे ।
पदाधिकारी भएकालाई मात्र अध्यक्षमा उठ्ने प्रावधान विधानमा भए पनि अब सबै प्रतिनिधिलाई उठ्न दिने, उमेर हद नलाउने प्रावधान गरेर टुंगो लगाउन सकिन्छ कि भन्ने राय पनि बस्नेतले राखेका छन् ।
हार्ने निश्चित भएको टिमले सम्मेलन भाँड्न खोजेको र यसमा वर्षमान पुन पक्षले अध्यक्ष प्रचण्डको आड लागेर दीपेश पुन र तुकमान महरालाई भाँडभैलो मच्चाउन लगाउन खोजेको पार्टीका अधिकांश पदाधिकारीको ठहर रहेको छ । शक्ति बस्नेतले यो कुरालाई सोझै नभए पनि घुमाउरो पारामा स्वीकार गरे ।
जिल्ला जिल्लाबाट प्रक्रिया पूरा गरेर आएका प्रतिनिधिलाई पनि उपमहासचिव शक्ति बस्नेतले केही जिल्लामा खल्बलाएका छन् । पछिल्लो समय ऊर्जामन्त्री हुँदा आर्थिक विवादमा मुछिएका भनेर विभिन्न मिडियामा आएका शक्ति बस्नेतले आफ्ना खल्तीबाट समेत केही प्रतिनिधि थपेका भन्दै हलमा विरोध भइरहेको छ । जिल्लाबाट प्रतिनिधिमा नपरेका एक जना पहाडी थरका विद्यार्थीलाई प्रतिनिधि नबनाउने हो भने हुँदैन भनेर भिटो लगाएर उनलाई थपेको वैठकमा सहभागी एक नेताले जानकारी दिए ।
जुन प्रक्रियामा जाँदा पनि अध्यक्ष प्रचण्डको पक्षको विद्यार्थी नेता नेतृत्वमा नआउने भएकाले सम्मेलन भाँडिने संकेत देखिएको छ ।
यो पनि पढ्नुहोस, प्रचण्डको प्रतिष्ठाको विषय बन्यो विद्यार्थी सम्मेलन : शक्ति र जुक्ति लगाउँदै
क्याटेगोरी : समाचार
प्रतिक्रिया