Techie IT
Samayabaddha
बुधबार, २४ पुस, २०८१

प्रधानमन्त्री भएका बेलामा पाठ्यक्रममा प्रचण्ड नराखेर पुष्पकमल दाहालमात्र किन राखियो ?


पुष्पकमल दाहाललाई प्रचण्ड पनि भनिन्छ । दाहाल आफैं प्रधानमन्त्री भएका बेलामा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्र सानो ठिमी, भक्तपुरले सामाजिक अध्ययनको कक्षा १० मा बि.सं. २०६३ देखि २०७९ सम्मको राजनीतिक घटनाक्रम भन्ने पाठमा पुष्पकमल दाहालमात्र लेखिएको छ । जबकि प्रचण्डको नामको उल्लेख नगर्नु महत्वपूर्ण र राजनीतिक प्रश्न बनेको छ ।

पुष्पकमल दाहालभन्दा प्रचण्ड नाम आफुलाई प्यारो लाग्ने उनले बेलाबेलामा बताउँदै आएका छन् । सरकारमा रहँदा प्रचण्ड नाम हटाउने निर्णय राजनीतिक छवि निर्माणको प्रयासका रुपमा हो कि  ?  यदि प्रचण्डले आफ्नो राजनीतिक जीवनमा आफ्नो नामको पुनः परिभाषा गर्न खोजिरहेका छन् भने उनले आफ्नो छवि र पार्टीको अस्तित्वलाई नयाँ ढंगले परिभाषित गर्न चाहिरहेका छन् ।

माओवादी आन्दोलन र पार्टीको संरचनामा खण्डित भएको अवस्था उनका लागि चुनौतीपूर्ण बनिसकेको छ । पार्टीका आन्तरिक विचारधारात्मक बहसहरूले प्रचण्डलाई कुनै विशेष दिशामा धकेलिरहेको पनि हुन सक्छ । जब पार्टीभित्रको संघर्ष र विचारधारात्मक असहमति बढ्दै गएको छ, प्रचण्ड नलेखिनु एक तटस्थता र शर्तको रूपमा हेरिन सक्छ । जसले उनलाई विवादबाट टाढा राख्न सक्छ ।

नारायणकाजी श्रेष्ठसँगको एकता र प्रचण्डपथको स्थगनले माओवादी पार्टीका लागि एक नयाँ दिशा दिनका लागि चुनौती प्रस्तुत गरेको थियो । माेहन वैद्य किरणकाे परम्परागत बाटाेमा जाने दवावबाट मुक्ति खाेज्नु थियाे । जनयुद्धकालकाे स्थापित प्रचण्ड नाम हटाएर हिंसाकाे इतिहास र छविलाई बिर्साउनु पनि हुनसक्छ ।

यद्यपि, प्रचण्ड नाम पाठ्यक्रममा समावेश नगरिंदा यसले जनसमुदायमा पार्टीको महत्त्व र अस्तित्वमा नकारात्मक प्रभाव पार्ने पुष्पकमल दाहालका एक सचिवालय सदस्यले जानकारी दिए । युवा पिढीमा माओवादी आन्दोलनको मूल्य र विचारधाराको स्थान कमजोर पार्नसक्ने उनको धारणा रहेको छ ।

प्रचण्डले आफ्नो नाम उल्लेख नगरेको हो या यो उनको सहमति बिना भएको हो भन्ने कुरा स्पष्ट छैन । तर, यस निर्णयले उनलाई र पार्टीलाई बहसमा ल्याएको छ । प्रचण्डको राजनीतिक इतिहास र भूमिका, जसले जनयुद्धको अवधारणालाई स्थापित गरेको थियो, त्यसको बारेमा युवा पुस्तामा सोच विचार गर्न आवश्यक छ ।


पुष्पकमल दाहाल र प्रचण्डको नामको भिन्नता एक राजनीतिक रणनीति हो, जसले प्रचण्डको छवि र नेतृत्वलाई पुनः परिभाषित गर्ने प्रयासको संकेत हुन सक्छ । पाठ्यक्रममा वास्तविक नाममात्रको उल्लेखले राजनीतिक घटनाक्रम र विचारधारासँग गहिरो सम्बन्ध राख्छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट